
३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन र शिलान्यासको कार्यक्रममा जानुपर्ने आफ्नो बाध्यता रहेको बताएका छन् ।
शनिबार केही सम्पादकहरुसँगको छलफलमा उनले उद्घाटन र शिलान्यासमा जाँदा समय धेरै जाने भए पनि धेरै जिद्दी आउने गरेको सुनाए ।
उद्घाटन शिलान्यास गर्नैपर्छ र भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू जाँदिन भनेर सोचे पनि कतिपय कार्यक्रममा जानैपर्ने बाध्यता रहेको बताएका हुन् ।
‘वास्तवमा उद्घाटन शिलान्यासमा समय बिताउनुभन्दा यहीँ बसेर खुरुखुरु काम गरौं भन्ने त मलाई पनि लागेकै हो, तर जात्तिविधि नै कर गर्छन्, अब गर्ने के ?’ उनले प्रश्न सोधे । अनि आफैं उत्तर दिए, ‘बरु कतिपय उद्घाटन चैं राति गरौं कि ? समय पनि बचत हुने । बिहान र दिउँसोको समय काम गर्न पाइने ।’
बालुवाटारमा आएर उद्घाटनको निम्तो दिएपछि नाइँ भन्न अप्ठेरो भएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले दिनमा एक पटक कुनै पनि हालतमा सिंहदरबार पुग्ने पनि बताए । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा नै नजाने र निवासमै धेरै समय बिताउने गरेको भन्दै आलोचना हुँदै आएको छ ।
तर प्रधानमन्त्री प्रचण्डले भने, ‘दिनमा म एकचोटी सिंहदरबार कुनै हालतमा जान्छु, त्यसले धेरै फरक पर्दो रहेछ ।’ उनले आफूले भन्नुपर्ने धेरै कुरा सरकारको न्यूनतम साझा कार्यक्रममा नै भनेको र अब काम गर्ने बताए ।
प्रतिक्रिया 4