+
+
पोखरा जहाज दुर्घटना :

दुई नातिनी र हजुरआमा सेती खोंचमै अस्ताए

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १८:१९
यास्मिन, ओममाया र पुजन ।

२ माघ, पोखरा । हङकङबाट नातिनी बिदा मनाउन नेपाल आउने भनेपछि ओममाया गुरुङ हप्ता दिन अगाडिदेखि नै फुरुङ्ग थिइन् । माघे संक्रान्ति मनाउने गरी ३० गते हङकङबाट कान्छी छोरीतर्फकी कान्छी नातिनी पुजन राना आउँदै थिइन् । त्यसैले पोखरा महानगरपालिका–१५ रामबजारकी ओममाया गाडी चढेर शुक्रबार काठमाडौं हान्निइन् ।

छोरी र नातिनी भनेपछि ओममाया हुरुक्कै हुन्थिन् । ‘छोरा भने पनि यिनै हुन्, छोरी भने पनि यिनै हुन्’ दुई छोरी जन्माएपछि ओमकुमारीले यही भन्ने गरेकी थिइन् । छोरा नै चाहिन्छ भन्ने समाजको पछाडि उनी लागिनन् ।

उनका दुवै छोरी हङकङमा छन् । ओममाया गुरुङका श्रीमान् ब्रिटिश आर्मी थिए । उनको २३ वर्ष अगाडि नै निधन भइसकेको थियो । छोरीहरु दुवै हङकङतिरै भएपछि ओममाया उनीहरु आउने बाटो हेरिरहन्थिन् ।

जेठी छोरीतर्फकी कान्छी नातिनी यास्मिन गुरुङले पोखरामै बसेर बीएस्सी पढिरहेकी थिइन् । उनै यास्मिनलाई लिएर ओममाया हङकङबाट आएकी पुजनलाई लिन शुक्रबार काठमाडौं गएकी थिइन् ।

हङकङबाट पुजन आएपछि शनिबार तीनै जना काठमाडौंमै बसे र आइतबार पोखरा नै आएर माघे संक्रान्ति मनाउने योजनाअनुसार यती एयरलाइन्सको टिकट काटे ।

आफन्तहरुका अनुसार उनीहरुले आइतबार दिउँसोको टिकट काटेका थिए । तर बेलैमा पोखरा पुगेर माघे संक्रान्ति मनाउने योजनाअनुसारै उनीहरुले आफ्नो उडान अगाडि सारे । बिहान साढे १० बजे उनीहरु यती एयरलाइन्सको जहाज चढेर करिब ११ बजे पोखरा ओर्लने परिवारका सदस्यले जानकारी पाएका थिए ।

पूर्वलेखनाथ क्षेत्र हुँदै आएको जहाज अन्तर्राष्ट्रिय विमानस्थलबाट पश्चिम पृथ्वीचोकतिरबाट फन्को मार्दै ल्यान्डिङ नै हुन नपाई सेती खोंचमा बजारियो ।

बिदा मनाउन हङकङबाट आएकी पूजन र पोखराबाट सँगै गएका ओममाया र नातिनी यास्मिनको सँगै माघे संक्रान्ति मनाउने योजना अधुरै रह्यो ।

‘उहाँ जहिले पनि ट्याक्सी लिएर यता हिंड्नुुहुन्थ्यो, नातिनी ल्याउन–पुर्‍याउन पनि ट्याक्सीकै प्रयोग गर्नुहुन्थ्यो, शुक्रबार उहाँ गाडी चढेर काठमाडौं जानुभयो । हामीले ट्याक्सीमै गएर त्यसमै आउने मान्छे किन पब्लिक गाडीमा गएको होला भनेर कुरा पनि गर्‍यौं’, ओममायाका भाइ रुपक गुरुङले भने, ‘उहाँ र दुई नातिनीहरुसँगै हिजो जहाजमा आउनुभएको थियो तर घरको आँगनसम्म आउन पाउनुभएन ।’

दुई नातिनीको शव पहिचान भइसकेको छ भने ओममायाको हुनसकेको छैन ।

ओममाया ६७ वर्षमा टेकेकी थिइन् भने नातिनी यास्मिन २५ र पुजन २० वर्षकी रहेको रुपकले बताए ।

‘माघे संक्रान्ति त बरु अर्को वर्ष मनाए पनि हुन्थ्यो तर दिदी र नातिनीहरु नै गुमाउनुपर्‍यो’, उनले भने । ओममायाको जस्तै दुई छोरीहरुका पनि दुई-दुई जना छोरीहरु थिए । दुवै छोरीका एक–एक छोरी हजुरआमा ओममायासँगै विमान दुर्घटनामा परे ।

ओममाया श्रीमानको निधनपछि सामाजिक काममा सक्रिय थिइन् । परोपकार महासंघ कास्कीको अध्यक्षसमेत रहेकी ओममाया महिलाहरुलाई सामाजिक कामका लागि जागरुक गराउँथिन् ।

‘सामाजिक काम भनेपछि हुरुक्कै, गाउँ, टोलमा हुने सामाजिक तथा भौतिक विकासमा पनि अगुवा हुनुहुन्थ्यो’ ओममायाका छिमेकी तथा पूर्व जनप्रतिनिधि सम्मरबहादुर श्रेष्ठले भने, ‘उहाँले थुप्रै ठाउँमा दान दिनुभएको छ, विकासमा सहयोग गर्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?