
२ माघ, पोखरा । यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ गरेको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन् ।
शव पहिचान भएको २४ घन्टा बितिसक्दासमेत शव बुझ्न नपाएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम गृह अगाडि जम्मा भएका मृतकका आफन्त र परिवारका सदस्यले धेरै समय पर्खिनुपरेको भन्दै विरोध जनाएका हुन् ।
मृतकका परिवारका सदस्यले शव दिन ढिलाइ हुनुको कारण जानकारी माग गर्दै आफूहरुले कतिबेर कुर्नुपर्ने हो भन्ने प्रश्न गरिरहेका छन् ।
अस्पतालले पहिचान भएका र पोस्टमार्टम भएका शव पनि आफन्तलाई दिएको छैन । अस्पतालले सबै शव जम्मा भएपछि मात्र सोमबारबाट दिने बताएको थियो ।
तर, पहिचानका शव पनि दिन ढिला गरेको भन्दै आफन्त आक्रोसित बनेका छन् । अस्पतालले पनि पोस्टमार्टम भइरहेको र क्रमश दिइने बताएको छ ।
दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये २६ जनाको पहिचान भएको छ । चार जनाको शवको खोजी भइरहेको छ ।
विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएका छन् ।
पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी छ ।
प्रतिक्रिया 4