
२ माघ, काठमाडौं । नेकपा एमालेका सांसद देवराज घिमिरेले आफू सभामुखको उम्मेदवार बन्ने सम्भावना रहेको बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको संवादका आधारमा समेत आफूले यस्तो सम्भावना देखेको उनको दाबी छ ।
एमालेबाट सभामुखका लागि उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा पनि दाबेदार छन् ।
राष्ट्रपति नहुने अवस्थामा पूर्वसभामुख सुवास नेम्वाङ नै पुनः सभामुख हुन तयार हुने कतिपय नेताहरुको बुझाइ रहँदै आएको छ ।
तर, सांसद घिमिरे एमालेबाट आफू नै सभामुखको उम्मेदवार हुने दाबी गर्छन् । ‘सम्भवत मैले सभामुखको उम्मेदवारी पाउँछु’ घिमिरेले अनलाइनखबरसित भने ।
उनी आफ्ना लागि दुईटा मात्रै विकल्प रहेको बताउँछन् । ‘मेरो अगाडि दुईटा अप्सन छन् । मन्त्रिमण्डलमा गएर जिम्मेवारी सम्हाल्ने कि सभामुख भएर जिम्मेवारी सम्हाल्ने । पार्टीले जे उचित देख्छ त्यसमा जान म तयार छु ।’
घिमिरे ४ मंसिरमा सम्पन्न आम चुनावमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका हुन् । एमाले प्रदेश–१ इञ्चार्ज रहेका घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्य भएका हुन् । राष्ट्रिय सभा सदस्य भने उनी २०५६ सालमै थिए । घिमिरे झापामा एमालेलाई स्थापित गर्न लामो समय काम गरेका नेतामध्ये पर्छन् ।
तर, प्रतिनिधिसभा सदस्यको चुनावमा ०७९ मा पहिलो पटक टिकट पाए । पहिलो पटक प्रतिनिधिसभा सदस्य भएका उनले सभामुखमा दाबी गरेका हुन् । तर, आफूमा अनुभवको कमी नरहेको उनको दाबी छ ।
प्रतिक्रिया 4