
३ माघ, काठमाडौं । माओवादी केन्द्रका सांसद सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेको खबर पाउँदा उनका बुवा हर्कबहादुर राई बेडमा आराम गरिरहेका थिए ।
पूर्वलाहुरे हर्कबहादुर पक्षघातले थलिएका छन् । किरातीले बुवालाई भने, ‘बुवा म मन्त्री हुने भएँ ।’
‘हँ, होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि विपना हो ?’
सुदनले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री बन्न लागेको सुनाए । बुवाले उनी कसरी मन्त्री हुन पुगे भनी जिज्ञासा राखे ।
सुदनले भने, ‘पहिलो त तपाईंहरूले जन्माउनुभयो, दोस्रो त मैले राजनीतिमा दुःख गरें, जनताले माया र भरोसा दिए । पार्टीले पनि विश्वास गर्यो ।’
बुवाले फेरि छक्क पर्न छाडेनन्, ‘उहिले फकल्यान्डको लडाइँमा मरेको भए यसरी तँ मन्त्री बनेको कहाँ देख्न पाउँथे र ? पाउने थिइनँ ।’
सुदनले आफू पनि युद्धकालमा मरेको भए माओवादीको शहीद भइसक्ने, तर बाँचेको हुँदा राज्यको महत्वपूर्ण जिम्मा पाएको सुनाए । बुवाले भने, ‘हाम्रो वंशमा कोही पनि वडाध्यक्षसम्म पनि भएनौं । अब राम्रो काम गर ।’
सुदनले पद पाउनुभन्दा काम देखाउनु ठूलो कुरा भएको भन्दै बुवासँग आफू धेरै मेहनती बनेर काम गर्ने वचन दिए । पहिल्यै बितेकी आमा सम्झेर उनले भने, ‘आज उहाँ पनि हामीसँगै भएको भए ।’
बुवा हर्कबहादुर ले भने, ‘तेरो आमा पितृको देश गइसक्यो । पछि म गएपछि सुनाइदिउँला, तँ मन्त्री बनिस् भनेर ।’
त्यसपछि रुवावासी चल्यो । हर्षको, भावुकताको, भन्नै नसकिने खालको दुःखको । अनि सुखको ।
भोजपुरमा प्रदेश १ का पूर्वमूख्यमन्त्री शेरधन राई हराएर प्रतिनिधि सभा जितेका सुदनलाई माओवादी केन्द्रले पहिलोपल्ट मन्त्री बनाएको छ ।
सुदनले फेसबुकमा लेखेका छन्, ‘बुवा मलाई जेलमा भेट्न आउनुहुँदा पनि रुनु भएको थियो । आज पनि रुनुभयो । तर आँसुको मुहान र भाव भने फरक ।’
प्रतिक्रिया 4