
काठमाडौं । ‘हत्तेरी कस्तो अल्छी लाग्यो ।’ कुनै पनि काम गर्ने जाँगर नहुँदा हामी ज्यान तन्काउँदै यसै भन्छौं । ‘अल्छी’ हाम्रो दैनिकीको शब्दकोषमा यसरी समेटिएको शब्द हो, जो हामीलाई पटक्कै मन पर्दैन । तर पटक-पटक त्यसैलाई दोहोर्याउन बाध्य हुन्छौं ।
अल्छी हुनु भनेको जाँगर, उत्साह, ऊर्जा सिथिल भएको स्थिति हो । यसले हाम्रो सुखसयल र सफलतामा भाँजो हाल्छ । त्यसैले अल्छीपनबाट हामी सकेसम्म भाग्न खोज्छौं । जबकि यसले हामीलाई पछ्याइरहन्छ । दुःखको कुरा के भने जब अल्छीपनबाट टाढा भाग्दैनौं, तब यो हाम्रो आनीबानी नै बन्न पुग्छ । त्यसपछि भने हाम्रो नामसँगै यस्तो विशेषण पनि जोडिन थाल्छ, ‘फलानो त साह्रै अल्छी ।’
मान्छे किन अल्छी हुन्छ ? अर्थात् किन अल्छी लाग्छ ? यो मान्छेको शारीरिक स्थिति हो वा मानसिक ? मन अल्छी हुन्छ कि तन ? मनोचिकित्सक सुमनप्रसाद अधिकारी भन्छन्, ‘यो दुवैको कारण हुन सक्छ । कहिले तनको कारण, कहिले मनको कारण ।’ शरीरमा कुनै रोग छ भने स्वभाविक रुपमा अल्छी लाग्छ । मनलाई पनि सञ्चो छैन भने अल्छी लाग्छ । अर्थात् अल्छी लाग्नु भनेको एक हिसाबले रोगी स्थिति हो ।
मनोचिकित्सक अधिकारी थप्छन्, ‘जीवनशैली, व्यक्तित्व, मनोवैज्ञानिक र शारीरिक समस्या आदि अल्छी प्रवृत्तिको कारण हुन् ।’
कहिलेकाहीं अल्छी लाग्नु सामान्य हो । यदि शारीरिक समस्या जस्तै मधुमेह, थाइराइड जस्ता कारणले अल्छी लागेको हो भने त्यो समस्या झन् बढ्न सक्छ र मुटुमा, शरीरको विभिन्न नसाहरुमा प्रभाव पार्छ । ‘तनावको कारण वा अनिद्राको कारण अल्छी लागेको हो भने एन्जाइटी र डिप्रेसन जस्तो समस्या हुन सक्छ,’ मनोचिकित्सक अधिकारी भन्छन्, ‘लामो समय अल्छी लागिरहन्छ भने केही समस्या छ कि भनेर परीक्षण गर्नुपर्छ ।’
अल्छी लागेको बेला सुत्ने, यत्तिकै बस्ने प्रवृत्ति गलत हो । अल्छी लागेको बेला केही काम नगर्ने सुत्ने गर्दा अल्छीपन झन् बढ्छ । त्यसैले सुत्ने भन्दा पनि हिंडडुल गर्ने, आफूलाई मनपर्ने काम गर्नुपर्छ । मनोचिकित्सकका अनुसार कसैलाई थाइराइडको कारणले अल्छी लागेको छ भने सुतेर वा यत्तिकै बस्दा समस्या झन् बढ्न सक्छ ।

मान्छे अल्छीपनबाट पूर्णतः मुक्त हुन सक्छ ?
मनोचिकित्सक अधिकारी भन्छन्, ‘अल्छी नै नलाग्ने स्थिति हुँदैन । भने जस्तै सामान्य अल्छी त सबैलाई लाग्छ । कुनै काम धेरैबेर गरेर शरीर थाकेर अल्छी लाग्नु सामान्य हो ।’ तर कसैलाई जतिबेला पनि अल्छी लाग्छ भने समस्या हुन सक्छ । कसैलाई अल्छी नै लाग्दैन, चाहिने भन्दा बढी सक्रिय छ भने पनि उसमा समस्या हुन सक्ने उनी बताउँछन् ।
किन लाग्छ अल्छी ?
मनोचिकित्सक अधिकारीका अनुसार अल्छी लाग्नुको धेरै कारण छन् । पर्याप्त निद्रा पुगेको छैन वा दिनचर्या राम्रो छैन र धेरै खाना खाएको छ भने सामान्य अल्छी लाग्छ । शरीरमा ‘स्टेरोइड’ केमिकलको मात्रा बढ्दा, ‘सेरोटोनिन’ र ‘डोपामिन’ भन्ने हर्मोनको कमी हुँदा लामो समयसम्म अल्छी लाग्ने समस्या हुन्छ ।
‘शरीरमा रगतको मात्रा कमी हुँदा पनि अल्छी लाग्ने शरीर गल्ने जस्ता समस्या हुन्छ,’ अधिकारी भन्छन्, ‘विभिन्न भिटामिन, खनिज तत्त्वको कमीले अल्छी लाग्छ । थाइराइड, मधुमेह जस्ता हर्मोनल समस्यामा पनि अल्छी लाग्ने हुन्छ ।’ एन्जाइटी र डिप्रेसन जस्ता मनोवैज्ञानिक कारणले पनि अल्छी लाग्ने समस्या हुन्छ ।
अल्छीपनबाट छुटकारा पाउने विधि
– सही समयमा सुत्ने र सही समयमा उठ्ने बानी बसाउनुपर्छ । पर्याप्त मात्रामा निद्रा पुग्यो भने अल्छी लाग्दैन ।
– दैनिक योग वा व्यायाम जस्ता शारीरिक क्रियाकलापहरू गर्ने ।
– प्रशस्त मात्रामा पानी पिउने र आफूलाई सधैं हाइड्रेटेड राख्ने ।
– एकैचोटि धेरै खाना खानुको सट्टा थोरैथोरै गरेर खाने ।
– मानसिक स्वास्थ्यमा ध्यान दिने । डिप्रेसन, तनाव आदिबाट बच्न ध्यान र योगको सहारा लिने ।
– कुनै शारीरिक समस्याको कारण अल्छी लागेको हो भने त्यसको उपचार गर्ने ।
– लामो समयसम्म अल्छी लागिरहन्छ भने के कारणले लागेको भनेर पत्ता लगाउन विशेषज्ञको सहयोग लिने ।
प्रतिक्रिया 4