
३ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारीका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
मंगलबार मन्त्रालयमा पदभार ग्रहणपछि अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री अर्यालले यस्तो दाबी गरेका हुन् । रोजगारीका लागि विदेशिनु नै पर्ने अवस्था रहेमा त्यस्ता व्यक्तिहरुको आत्मसम्मान र सुरक्षाको प्रत्याभूति सरकारले गर्ने उनले बताए ।
प्रस्तुत छ मन्त्री अर्यालसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश :
मन्त्रालयको जिम्मेवारीलाई कतिको चुनौतीको रुपमा लिनुभएको छ ?
मलाई काम गर्न मज्जा लाग्छ । काम गरेरै त्यसलाई चिर्ने हो । चुनौती छ र त्यसको सामना गरेर नतिजा निकाल्न सकिन्छ । यस मन्त्रालयमा धेरै कामहरु छन् । त्यो पुरा गर्नु पर्छ भनेरै आएको हुँ । आफ्नो काम इमानदारीपूर्वक पूरा गर्छु ।
मन्त्रालयले तत्काल गर्ने कामहरु के-के हुन् ?
सबैभन्दा पहिले हामीले स्वदेशमा रोजगारी सिर्जना गर्न के-के गर्नुपर्छ भनेर त्यसमा लाग्छौं । त्यसका लागि मातहतका विभाग, बोर्ड लगायतबाट अध्ययन गरेर दूरगामी नीतिगत परिमार्जन गरी स्वदेशमै रोजगारी सिर्जना गर्छौं ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि नयाँ मन्त्रीसँग केही आशा होला । त्यो कसरी पुरा गर्नुहुन्छ ?
म यो कुर्सीमा बसेपछि अवश्य पनि सबै नेपाली दाजुभाइको साझा मान्छे हुँ । मैले सबैको हित र राम्रोका लागि काम गर्छु । । स्वदेशका बेरोजगार जनशक्तिलाई रोजगारी दिन र विदेशमा रहेकाहरुको समस्यालाई अध्ययन गराएर हामी काम गर्छाैं ।
मन्त्रालयले तत्काल पहल थाल्ने काम के-के हुन् ?
हामी नेपालमा जागिर नपाएर विदेशिनुपर्ने अवस्था अन्त्यका लागि गम्भीर छौं । बाध्यताले विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि सरकारले काम गर्छ । विदेश जानै पर्नेका लागि उनीहरुको आत्मसम्मान र सुरक्षाको प्रत्यभूति सरकारले गर्छ ।
प्रतिक्रिया 4