
३ माघ, काठमाडौं। दिउँसो १:५५ बजे शहरी विकास मन्त्रालयका सबै कर्मचारीहरु मुख्यद्वारमा फूलमाला लिएर लामबद्ध थिए । नवनियुक्त मन्त्री बिक्रम पाण्डे नआइपुग्दै कर्मचारीहरु सतर्क मुद्रामा स्वागतको लागि तयार थिए ।
कार्यालय सहयोगीले कागजले छोपेको केही चिज लिएर हतार हतार मन्त्रालयभित्र प्रवेश गर्दै थिए । पत्रकारहरुले जिज्ञासा राखेपछि उनले जवाफ दिए, पृथ्वीनारायण शाहको फोटो हो ।
त्यसको केहीबेरपछि मन्त्रालय परिसरमा सचिवको गाडी रोकियो । रद्राक्षको माला लगाएका सचिव सुरेश आचार्य गाडीबाट ओर्लिएलगत्तै पछाडि नवनियुक्त शहरी विकासमन्त्री बिक्रम पाण्डेको गाडी आयो । मन्त्री पाण्डेको गलामा पनि रुद्राक्षको माला थियो ।
मन्त्री पाण्डे कर्मचारीहरुबाट फूलमाला लिंदै कार्यकक्षतर्फ लागे । मन्त्री पुग्नुअघि नै उनको कुर्सीको ठीक अगाडि पृथ्वीनारायण शाहको फोटो झुण्ड्याइसकिएको थियो । मन्त्रालयका एक कर्मचारीले विनम्रभावमा भने, ‘हजुरको सिधा अगाडी राखेको हजुर ।’ मन्त्री पाण्डे मुस्कुराए । खासमा राप्रपाले आफ्ना मन्त्रीहरुको पदबहालीका लागि जानुअघि नै कार्यकक्षमा पृथ्वीनारायण शाहको फोटो राख्न मन्त्रालयका सचिवहरुलाई भनिसकेको थियो ।
सचिव आचार्यले मन्त्री पाण्डेले गर्ने निर्णयको लागि तयार बनाएको फाइलहरुबारे जानकारी दिए । पहिलो निर्णयका लागि दुई वटा प्रस्तावित निर्णय फाइल तयार थिए ।
पहिलो फाइल थियो, सातवटै प्रदेशको राजधानीको एक रुपतासहितको विकासको लागि न्यूनतम मापदण्ड लागि अध्ययन गर्ने समिति गठनको । दोस्रो थियो, हरेक आधा घण्टाको दूरीमा झोलुंगे पुलको निर्माण गर्ने ।
पाण्डेलाई सचिव आचार्यले एउटा रोजेर निर्णयमा हस्ताक्षर गर्न सुझाए । मन्त्री पाण्डेले झोलुङ्गे पुलसम्बन्धी निर्णय गर्ने बताए । हस्ताक्षर गर्ने बेलामा उनले सोधे, ‘यो कति समयमा पूरा हुन्छ ?’ सचिवले ३ वर्षभित्र सकिने बताए । मन्त्री पाण्डेले निर्णय गर्नुअघि प्रश्न राखे, ‘मन्त्रीले नै हस्ताक्षर गर्ने तर काम नहुने त हुदैन नि ?’
मन्त्री पाण्डेले निर्णयमा हस्ताक्षर गर्न लाग्दा सचिव आचार्यसँगै रहेका पण्डितले मन्त्र वाचन सुरु गरे । ‘मंगलम् भगवान विष्णु, मंगलम गरुडध्वजः ….।’
ठेकदार मन्त्री हुँदा स्वार्थ बाझिंदैन ?
निर्णयमा हस्ताक्षरपछि कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका मन्त्री पाण्डेलाई अनलाइनखबरले प्रश्न गर्यो, ‘निर्माण व्यवसायीले शहरी विकास मन्त्रालय लिँदा स्वार्थ बाझिंदैन ?’
मन्त्री पाण्डे रक्षात्मक देखिए । उनले बेलायतको उदाहारण दिन उल्टै प्रश्न गरे, ‘बेलायतको प्रधानमन्त्री को हुन् थाहा छ ?’ मन्त्री पाण्डेले थप प्रष्ट पार्दै भने ‘उनी (ऋषि सुनाक) प्रधानमन्त्री पनि व्यवसायी हो नि ! उहाँलाई किन त्यो प्रधानमन्त्रीको जिम्मेवारी दिइयो ? म यहाँ किन आएको भन्ने मलाई थाहा छ, मैले के गर्नुपर्छ मलाई थाहा छ । त्यसकारण नै देश र जनताले मलाई यो जिम्मेवारी दिएको हो ।’
पाण्डेले मन्त्रीको हैसियतमा आफूले के गर्ने, के नगर्ने थाहा भएको बताए । उनले शहरी विकास मन्त्रालयमा हुन नसकेका काम नियमित गर्ने र थप योजनाहरु अगाडि बढाउनेतर्फ ध्यान दिने बताए । उनले शहरी विकास मन्त्रीको रुपमा गर्नुपर्ने समन्वय, नयाँ योजनाहरु तीब्र लागु गर्ने बताए ।
‘शहरी विकास मन्त्रालयको बारेमा हिजोसम्म जे सुन्नुहुन्थ्यो, अब त्यो गुनासो अब तपाईंहरुले सुन्नु हुँदैन,’ उनले भने, ‘मलाई यो मन्त्रालयमा काम किन छिटो हुन नसकेको भन्ने थाहा छ, त्यो समस्या हल गर्न म मन्त्री भएर आएको हो ।’
प्रतिक्रिया 4