+
+

रामचन्द्रको यात्रा शिक्षकदेखि सभामुखसम्म

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ माघ ३ गते २०:००

३ माघ, जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशसभा संसदीय दलको नेतामा सरोज यादव, रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, मो.समिर दाबेदार थिए । तर दलको नेतामा सरोज यादव र उपनेतामा दीपेन्द्र ठाकुर चयन भए ।

रामचन्द्र मण्डल माओवादी केन्द्रबाट आएका कारण उनलाई एमालेले नपत्याएको चर्चा भयो । २०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर पछि एमाले प्रवेश गरेका कारण उनले प्रदेशसभा सदस्य पद गुमाएका थिए ।

पद गुमाएर भए पनि एमालेमा बसेको आफ्नो त्यागलाई अवमूल्यन गरेकामा उनी निराश भए । यद्यपि पार्टीको निर्णयमा विमति जनाएनन् । तर आज रामचन्द्र प्रफुलित छन् । उनी मधेश प्रदेशसभाको सभामुख निर्वाचित भए ।

मंगलबार प्रदेशसभामा भएको निर्वाचनमा रामचन्द्रको पक्षमा ७४ मत पर्‍यो । धनुषा १(२) बाट दोस्रो पटक निर्वाचित मण्डललाई प्रदेशसभामा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र चार स्वतन्त्र सांसदले मत दिए । नेपाली कांग्रेसबाट सभामुखका उम्मेदवार जंगीलाल रायले कांग्रेस र एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको मत पाए ।

बाल्यकालदेखि क्रान्तिकारी विचार बोकेका मण्डल शिक्षक हुँदै सभामुख बन्न सफल भएका हुन् । धनुषाको मिथिला विहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीमा २०३० असार १७ मा जन्मिएका रामचन्द्र अंग्रेजीमा स्नातक र मैथिलीमा स्नातकोत्तर गरेका छन् ।

१६ वर्षको उमेरमा २०४६ सालमा सिपी मैनाली नेतृत्वको मालेबाट राजनीति थालेका थिए । उनी तत्कालिन मिथिलेश्वर मौवाही गाविसको गाउँ कमिटी सचिव बने ।

रामचन्द्र २०४७ सालमा राराब क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटी सदस्य बनेका थिए भने ०४९ सालमा पढाइको सिलसिलामा काठमाडौं गएपछि एमालेको धनुषा काठमाडौं सम्पर्क मञ्चका संस्थापक अध्यक्ष बने । २०५३ सालमा धनुषा फर्केर शिक्षण पेशामा लागे ।

उनले कुर्थास्थित मावि कुर्थामा अंग्रेजी विषयको अध्यापन सुरु गरेका थिए । त्यसको केही वर्षपछि मावि ठेरामा अध्यापन गराउन थाले । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कार्य समिति सदस्य बने । पछि माओवादीको शिक्षक संगठन स्थापना गरे । २०५९ सालमा उनी माअ‍ोवादी जनयुद्धमा भूमिगत नै भए ।

भूमिगत भएसंगै माओवादीको जिल्ला कमिटी सदस्य बने । पार्टीको काममा सक्रिय हुँदा शिक्षण पेशाबाट बिराम लिए । २०६८ मा माओवादीको केन्द्रीय सदस्य बने भने २०७२ पोलिटब्यूरो सदस्य बने । उनले २०६८ देखि २०७६ सम्म धनुषामा माओवादी केन्द्रको नेतृत्व गरे ।

मावि तहको अंग्रेजी शिक्षकको प्रशिक्षक समेत भइसकेका रामचन्द्र २०६४ मा ग्रामीण आवास कम्पनीका प्रबन्धक र २०६५ सालमा जनकपुर बृहत्तर क्षेत्र विकास परिषदको अध्यक्ष बनेका थिए । २०७४ को निर्वाचनमा धनुषा १(२) मा नेकपा माओवादी केन्द्रबाट चुनाव जिते ।

चुनाव जितेपछि प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक बने । एमाले र माओवादी मिलेर नेकपा भएपछि पनि उनी केन्द्रीय सदस्य बने ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भएको नेकपा विवाद र पछि एकता भंग हुँदा उनी एमालेमा बसे । एमालेले उनलाई केन्द्रीय सदस्य र धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी दियो ।

अनुभवी र त्यागको आधारमा आफूलाई दलको नेता बनाउँछन् भन्नेमा ढुक्क थिए उनी । यद्यपि उनले सभामुखको जिम्मेवारी पाइसकेका छन् । उनलाई आफ्नो त्यागले नै यो पद पाएको भन्ने लागेको छ । उनले आफ्नो कार्यकाल ऐतिहासिक र उपलब्धिमूलक बनाउने बताएका छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?