
आहा ! आज त मेरो पहिलो विमान यात्रा
कति रमाइलो, अझै बेरसम्म उडिरहोस् न
म पनि यही जहाजसँगै पतङ्ग भएको छु
पहिलोचोटि बल्ल भुइँ छोड्न पाएको छु
तर मलाई के थाहा
आखिर भुइँ छोडेपछि मैले
संसार नै छोड्न लेखेको रैछ भनेर
म त डाक्टर
मैले त कैयौं बिरामीको अनवरत् उपचार गर्छु
मलाई कतिले त भगवान भन्छन्
तर मलाई के थाहा
मेरो भगवानको अगाडि म जेसुकै भए नि
केही नचल्दो रहेछ
एकाएक म आफैं बिरामी भएको अनुभूत गरेको थिएँ
तर मलाई के थाहा
चितामा नराख्दै मलाई जल्न लेखेको रैछ भनेर
म त घुम्न आएको
ओहो, पोखरा सहर कस्तो नै होला
भन्ने कल्पना गर्दै अब आइसक्यो भन्दै थिएँ
तर मलाई के थाहा
आएको त मेरो काल रहेछ
म त माथिबाट दृश्य सबैलाई देखाउँदै थिएँ
तर मलाई के थाहा
अब उनीहरुले मलाई नै देख्न पाउँदैनन् भनेर
म त चालक
पुरानो विमानमा नयाँ सपना बोकेर हिंडिरहेको छु
सबैको ज्यानको जिम्मा लिएर
सेतो पहिरनमा कालो जुत्ता लगाएर
तर मलाई के थाहा
आज मै माथि सेतो कात्रो ओढाइन्छ भनेर
ल आयो धावन मार्ग भन्दै
विमान ओराल्दै के थिएँ
एक्कासी खै के चलेन, लौ न के गरुँ
भो अब सक्दिन, सबैलाई बचाउन सक्दिन
कोही त बाँच्ला बरु भनेर
दिशा मोडें सेतीतर्फ
तर मलाई के थाहा
हामी सबैको जिन्दगी त्यहीं मोडिन लेखेको रैछ भनेर
म त पत्रकार
सोधपुछमा व्यस्त हुन्थें
जनताको निम्ति सधैं तातेको म
मलाई के थाहा
आज एक्कासी सेलाउन लेखेको रैछ भनेर
मैले त अरुका खबर
जनता सामु पस्किन्थें
तर मलाई के थाहा
आज मैं जनताको खबरको पात्र बन्छु भनेर
म त कलाकार
सबैलाई मनोरञ्जन गराउँदै
उनीहरुका भावनाहरुसँग ठोक्किंदै हिंड्छु
तर मलाई के थाहा
मेरो आयु कहाँ यो खोंचमा आएर ठोक्किन लेखेको रैछ भनेर
हामी त पर्यटक
अनेक देशबाट यहाँको दृश्य हेर्न आएका
तर हामीलाई के थाहा
आज हामी यहीं खरानी हुँदा
नेपालीहरु पर्यटक बनेर हामी जलेको दृश्य हेर्छन् भनेर
अझ मेरो नेपालको पहिलो दिन
मलाई के थाहा
मेरो नेपालको पहिलो दिन नै
अन्तिम रैछ भनेर
म त एउटा कवि
मैले त विषय पाए कविता लेख्छु
मनका भावना शब्दहरुमा पखाल्छु
तर मलाई के थाहा
यो लेखाइले मेरा आँखा पखाल्छन् भनेर
मलाई दीर्घायुको शुभकामना दिन्छन्
तर मलाई के थाहा
मेरो आयु कति छ भनेर ।।
प्रतिक्रिया 4