
काठमाडौं । पटकथा लेखक शिवम् अधिकारीको लेखनमा महिला सशक्तीकरणको विषयमा फिल्म निर्माण हुने भएको छ । वैशाखदेखि छायांकन सुरु हुने भनिएको फिल्मलाई आगामी तीज पर्वमा रिलिज गर्ने योजना छ ।
पटकथा लेखनको प्रारम्भिक चरणमा रहेको फिल्मको शीर्षक भने तय भइसकेको छैन । पटकथा लेखक शिवम् अधिकारीले रेखा र पूजासँगको युगल तस्वीर सार्वजनिक गर्दै नयाँ फिल्ममा सहकार्य हुन सक्ने संकेत गरेका हुन् ।
अनलाइनखबरसँग कुरा गर्दै लेखक अधिकारीले तीन जना महिला पात्रलाई मुख्य भूमिकामा लिएर बनाइने फिल्ममा रेखा र पूजाबाहेक अर्की एक अभिनेत्री पनि हुनसक्ने जानकारी दिए ।
फिल्मबारे लेखक अधिकारीले भने, ‘पछिल्लो समय महिलाहरुले असुरक्षित महसुस गरिरहेका छन् । उनीहरु सुरक्षा र सम्मान चाहन्छन् । यो फिल्मका मुख्य महिला पात्रहरुले त्यो प्राप्तिका लागि लड्छन् र बदला लिन्छन् । फिल्मका हिरो पनि उनीहरु नै हुन् । महिलाले आवाज उठाउनुपर्छ भन्ने सन्देश यसले दिन्छ । कम्तीमा एक-दुई सातामा फिल्मले पूर्ण आकार लिन्छ ।’
निर्देशक र अन्य कलाकार तय हुन बाँकी रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4