
काठमाडौं । स्वास्थ्य क्षेत्रमा व्यवस्थापकीय भूमिका चुस्त-दुरुस्त हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल स्वास्थ्य व्यवस्थापक संघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्ने वक्ताहरुले दूरदराजका नागरिकमा स्वास्थ्यसेवा पुर्याउन व्यवस्थापकीय भूमिका बलियो बनाउनुपर्ने बताए ।
संघका महासचिव डा. होम अधिकारीले पछिल्लो एक दशकमा अस्पतालहरुको संख्या बढे पनि सर्वसाधारणले अनुभूति गर्ने गरी गुणस्तरीय सेवा र सुविधा भने पुग्न नसकेको औंल्याए । यसका लागि स्वास्थ्य क्षेत्रमा व्यवस्थापकीय भूमिका बढाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रको व्यवस्थापन विषयमा डा. भगवान कोइराला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाका प्रमुख मदन उपाध्याय लगायतले अन्तरक्रिया समेत गरेका थिए ।
स्वास्थ्य क्षेत्रमा प्राविधिक क्षमता बढ्दै गए पनि व्यवस्थापकीय क्षेत्रलाई भने खासै ध्यानमा नराखिंदा ग्रामीण क्षेत्रका नागरिक आधारभूत स्वास्थ्य सुविधाबाट समेत वञ्चित हुने गरेको संघका अध्यक्ष महेन्द्रराज भुसालले बताए ।
प्रतिक्रिया 4