
६ माघ, काठमाडौं । १८ महिने छोरालाई भ्यागुत्ते रोग, हेपाटाईटिस बीलगायतका रोगबाट बचाउने खोप लगाउन १ माघमा ललितपुर स्थित मेडिसीटी अस्पताल पुगे भक्तपुर, लोकन्थलीका सौरभ भट्टराई ।
बच्चालाई खोप लगाएर साँझ घर फर्केपछि उनीहरुले खोप कार्ड हेरे । खोप कार्ड हेरेपछि सौरभ अच्चमित भए, ‘खोप कार्डमा टाँसिएको खोपको विवरणमा नोभेम्बर २०२२ मै खोपको म्याद सकिएको लेखिएको छ ।’
६ हजार ५ सय रुपैयाँको उक्त खोप खरिद गरेको बिलमा भने म्याद समाप्त हुने मिति सन् २०२४ लेखिएको छ ।
खोप राखिएको भाँडोबाट उप्काएर खोप कार्डमा टाँसिएको स्टिकरमा भने खोपको म्याद समाप्त हुने मिति नोभेम्बर २०२२ लेखिएको छ ।
‘खोप कार्डमा टाँस्ने स्टिकर खोप राखिएको भाँडोबाटै उप्काएर टाँस्छन्,’ सौरभले भने, ‘बिलमा २०२४ फार्मेसीले लेखेको हो ।’
म्याद गुज्रिएको खोप किन लगाएको भन्दै अस्पताल पुगेका सौरभलाई अस्पताल प्रसासनले मानवीय त्रुटि भन्दै आलटाल गर्न खोज्यो । ‘हामी अस्पताल पनि गएका थियौं,’ सौरभले अनलाइनखबरसँग भने, ‘यो सामान्य मानवीय त्रुटि हो । यसमा केही समस्या हुँदैन भने ।’
आफ्नो १८ महिने छोरालाई म्याद गुज्रिएको खोप लगाइएको बारे सौरभले नेपाल मेडिकल काउन्सिललाई पनि जानकारी गराएको बताए ।
प्रतिक्रिया 4