
६ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता बढाउन विश्व बैंकसँग आग्रह गरेका छन् । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस सहितको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन् ।
मन्त्री पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी विनियोजन भई प्राप्तिका लागि आवश्यक पूर्व कार्य पुरा गर्न अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने आश्वासन समेत दिए ।
विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरुमा देखिएका समस्याको कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताए ।
विभिन्न क्षेत्रमा विश्व बैंकले गरेको सहयोगको प्रशंसा गर्दै अर्थमन्त्री पौडेलले माथिल्लो अरुण, ग्रामीण सडक लगायत आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी गराए ।
अर्थमन्त्री पौडेलले विश्व बैंकसँगको सम्बन्ध अझ घनिष्ठ हुने र सहयोगले थप उचाइ लिने विश्वास व्यक्त गर्दै आयोजनाहरु सफल बनाउन राजनीतिक नेतृत्वको सहयोग हुने बताए ।
विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले अर्थमन्त्री पौडेलको कार्यशैलीप्रति आफू जानकार र प्रभावित रहेको उल्लेख गर्दै विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरु प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरेको अर्थ मन्त्री पौडेलको सचिवालयले जनाएको छ । उनले विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरुमा देखा परेका समस्याहरु समाधानमा सहजीकरण गर्न अर्थमन्त्री पौडेल समक्ष आग्रह गरे ।
प्रतिक्रिया 4