
८ माघ, धनगढी । नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग भएको छ । राष्ट्रिय युवा संघ नेपालका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरेका हुन् ।
आइतबार धनगढीमा भएको राष्ट्रिय युवा संघ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बिसीले नेता रावलकै कारण अछाममा संगठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आरोप समेत लगाएका छन् ।
‘अछामबाट भीम रावललाई हामीले कति पटक भोट हालेर जितायौँ । पार्टीको उपाध्यक्ष बनाउँदै राष्ट्रिय स्तरको राजनीतिमा स्थापित गर्यौँ,’ बिसीले भने, ‘तर चुनावमा रावलले समाजवादी र कांग्रेसलाई जिताउन भूमिका खेल्नुभयो । उहाँलाई कारबाही गरिनुपर्छ ।’
बिसीले रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरुमा एकता हुन नसकेकाले कारबाही गरेमा एकता कायम हुने दाबी समेत गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव क्षितिज थेवे प्रमुख अतिथि रहेको कार्यक्रममा युवा संघका अछाम इञ्चार्ज भरतबहादुर शाहको समेत सहभागिता थियो । सोही कार्यक्रममा बिसीले रावलले एमालेका उम्मेदवार झपट बोहरा र यज्ञ बोगटीलाई हराउन भूमिका खेलेको आक्षेप लगाउँदै कारबाहीको माग गरेका हुन् ।
प्रतिक्रिया 4