
९ माघ, काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेकाहरुविरुद्ध राज्यविरुद्ध कसुर अभियोगमा अनुसन्धान हुने भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्पट फिक्सिङमा चार नेपाली र ६ विदेशी संलग्न भएको निष्कर्ष निकालेको छ । उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारीसहित ३ जना पक्राउ परेका छन् ।
सीआईबी स्रोतका अनुसार स्पट फिक्सिङमा मुलुकी अपराध संहिता र राष्ट्रिय खेलकुद विकास ऐन आकर्षित हुन्छ ।
मुलुकी अपराध संहिताको दफा ५१ (३) मा नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा हुने खेलमा मिलेमतो गरे राष्ट्रहित विरुद्धको कसुर भएको मानिने उल्लेख छ । यसमा दोषी ठहर भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ ।
राष्ट्रिय खेलकुद विकास ऐनमा भने नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी खेलिने कुनै पनि खेलमा मिलेमतो गराउन नहुने उल्लेख छ । मिलेमतो गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । साथै लेनदेन भएको रकम पनि जफत गरिने ऐनमा उल्लेख छ ।
त्यस्तै यस्तो कसूर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसूर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्नेलाई पनि यही सजाय हुनेछ । यस्तो कसूर गर्ने सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा उनलाई थप ३ वर्ष कैद हुनेछ ।
प्रतिक्रिया 4