+
+
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान :

करोडौं अनियमितताको आरोप, ‘प्राध्यापक’ लेखेको विषयमा भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १९:३१
उपकुलपति ज्ञानेन्द्र गिरी

९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । गिरीले प्राध्यापक नभई प्राध्यापक हुँ भनी उक्त पदको प्रयोग गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियत साथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको, नपाएको ओहदा पाएँ भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको अख्तियारको भनाइ छ ।

डा. गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको भन्दै अख्तियारले उनलाई सोही दफा अनुसार कारवाही गर्न माग गरेको छ । उक्त दफामा दपाएको ओहोदा पाएँ भन्नेलाई एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

अख्तियारले गिरी सार्वजनिक संस्थाका पदाधिकारी रहेकाले यस कसुरमा थप ३ वर्ष कैद गर्न माग गरेको छ ।

डा। ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा नियुक्ति नै दिएको देखिएको भन्दै अख्तियारले कार्कीलाई मतियारको रुपमा कारबाही गर्न माग गरेको छ ।

स्वास्थ्य मन्त्रालयले गत वर्ष भदौंमा नै नाम अगाडि प्राध्यापक लेख्ने गिरीले प्राध्यापकको उपाधी नपाएको भनी प्रतिवेदन तयार पारेको थियो । उनले आफ्ना नामअघि थपेको ‘प्राध्यापक’माथि छानबिन गर्न स्वास्थ्य मन्त्रालयले टोली नै गठन गरेको थियो ।

अध्ययन टोलीले डा. गिरीको योग्यता नपुगेकाले उनले ‘प्राध्यापक’ लेख्न पाउने कानुनी आधार नभएको निष्कर्ष निकालेको थियो । चौतर्फी प्रश्न उठेपछि डा. गिरीले आफैं प्राध्यापक हटाएका थिए ।

को हुन् गिरी ?

लामो समय कोशी अञ्चल अस्पताल विराटनगरमा काम गरेका गिरीलेसेवाकालको उत्तरार्धतिर सुनील शर्माहरुसँग मिलेर नोबेल मेडिकल कलेज खोलेर संस्थापक अध्यक्ष भए । पछि उनी नोबेलबाट बाहिरिए र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीका नातेदार ज्ञानेन्द्रमानसिंह कार्कीसँगको साझेदारीमा बिराट मेडिकल कलेज खोले ।

गिरीसँगै अख्तियारले मुद्दा दायर गरेका डा. कार्की हाल निजी मेडिकल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष छन् । विराटमा कार्यरत रहँदा नै कार्कीले डा. गिरीको नाम ‘प्राध्यापक’का लागि सिफारिस गरेको अख्तियारको आरोप छ ।

उनी उपकुलपति भएपछि धरानमा उनको राजीनामा माग गर्दै कर्मचारीहरुले आन्दोलन गरेका थिए । उनले प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक र आर्थिक पद्धति तहसनहस पारेको सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनमा नै उल्लेख छ ।

धरानमा एकपछि अर्को अनियमितता बढेपछि डेढ वर्षअघि सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले पदाधिकारीहरुमाथि छानबिन गरी कारवाही गर्न सिफारिस गरेको थियो ।

प्रतिवेदन पाएको डेढ वर्षसम्म पनि अख्तियार आर्थिक अनियमितताको आरोपमा मुद्दा चलाउन सकेन र केवल उपकुलपति डा. गिरीले नपाएको ओहोदा पाएको हुँ भनेको विषयमा मात्र मुद्दा चलायो ।

खै अनियमितताको छानबिन ?

डेढ वर्षअघिको छानबिनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं रुपैयाँ अनियमितता भएको भनी संलग्नहरुमाथि कारवाहीको सिफारिस गरेको थियो । सचिव बैकुण्ठ अर्याल संयोजकत्वको उक्त अध्ययन समितिले खरिदमा अनियमितता भएको, शैक्षिक स्तर खस्केको, स्वास्थ्य सेवा गुणस्तरीय हुन नसकेको लगायतका समस्या औंल्याएको थियो ।

उपचारसँग सम्बन्धित मास्क बजार मूल्यभन्दा दशौं गुणा महंगोमा खरिद गरिएको र प्रश्न उठाउँदा सम्बन्धित विभागमा ती सामग्रीहरूको आपूर्ति नै रोकिने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो । प्रतिष्ठानले तीस हजार रुपैयाँ पर्ने सामग्री सोझै खरिदको नाममा पाँच लाख रुपैयाँसम्ममा खरिद गरेको पनि उल्लेख गरेको थियो ।

सिटीस्क्यान, एमआरआई, एचडीयु तथा फार्मेसीसम्बन्धी खरिदमा ठूलो अनियमितता भएको छानबिन प्रतिवेदनमा उल्लेख थियो । शैक्षिक गतिविधिमा केन्द्रित हुनुपर्ने पदाधिकारी र पूर्व पदाधिकारीहरु समेत आर्थिक लाभको लोभमा खरिदका क्रियाकलापमा संलग्न भएको प्रतिवेदनमा उल्लेख थियो ।

अस्पतालका सामग्री र उपकरण चुस्त दुरुस्त नहुँदा कोरोना महामारीका बेला धेरै बिरामीले ज्यान गुमाउनुपरेकाले अस्पतालका पदाधिकारीहरुमाथि छानबिन हुनुपर्ने औल्याएको थियो । प्रतिवेदनमा मिलेमतोका कारण अस्पतालमा परीक्षणका लागि पर्याप्त सुविधा नहुँदा अन्य अस्पतालमा रेफर गर्ने प्रचलन भएको र त्यसबापत पदाधिकारीहरुले निजी अस्पतालबाट कमिसन पाउने औल्याइएको थियो ।

अख्तियार उच्च स्रोतका अनुसार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रका अनियमितताका उजुरीमा अनुसन्धान भइरहेको छ । गिरीको प्राध्यापक पदको ओहोदाको विषयमा गरिएको अनुसन्धान टुंगोमा पुगेकाले अहिले त्यसमा मात्र मुद्दा चलाइएको ती अधिकारीले बताए ।

‘प्रतिष्ठानभित्रका कयौं अनियमिततामाथि छानबिन चलिरहेको छ, ढिलोचाँडो नतिजा देखिन्छ’ अख्तियार स्रोतले भन्यो, ‘अहिले छानबिन नटुंगिएको मात्रै हो, ढाकछोप गरेको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?