
९ माघ, धनगढी । कैलालीको गौरीफन्टा नाकामा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर सुरक्षा जाँच गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले सोमबार नेपाल–भारत सीमास्थित गौरीफन्टा नाकामा तालिम प्राप्त कुकुरको प्रयोग गरेर जाँच गरिएको जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र पालले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि, लागुऔषध ओसारपसार तथा विस्फोटक पदार्थको अवैध आयात जस्ता कुरालाई ध्यानमा राखेर तालिम प्राप्त कुकुरको प्रयोग गरेर जाँच गरिएको जानकारी दिए ।
उनकाअनुसार सोमबार दिउँसो २ बजेदेखि ५ बजेसम्म नाका क्षेत्रमा कडाइ गर्दै कुकुरसहित जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोली खटाइएको थियो । एसपी पालले अवैध सामान ओसारपसार सम्बन्धी कुनै पूर्व सूचना प्राप्त भएका कारण नभएर सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधीमाथि निगरानी बढाउन नयाँ अभ्यास थालनी गरिएको बताए ।
उनले गौरीफन्टा नाका मात्र नभएर अगामी दिनमा जिल्लाका अन्य नाकामा पनि तालिम प्राप्त कुकुरको प्रयोग गर्दै सीमा क्षेत्रको जाँचमा कडाइ गरिने दाबी गरेका छन् । सोमबार गौरीफन्टामा गरिएको जाँचका क्रममा भने लागुऔषध वा विस्फोटक पदार्थ जस्ता सामानको ओसारपसार नभेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4