+
+

बालुवा नपाएपछि नागढुंगामा सुरुङमार्ग खन्ने काम ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १९:५२

९ माघ, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको काम ठप्प भएको छ । शिलान्यास भएको करिब ३९ महिनामा करिब ४८ प्रतिशत काममात्रै सकिएको अवस्थामा बालुवा अभाव भएपछि सुरुङमार्गको काम रोकिएको हो ।

२० पुसमा गृह मन्त्रालयले अवैध क्रसरहरु बन्द गर्न निर्देशन दिएपछि सुरुङमार्ग खने लगत्तै भित्तामा फ्याक्नुपर्ने बालुवाको अभाव भएको छ । क्रसरमा धोएको बालुवा अभावले सुरुङमार्ग खन्ने काम नै रोकिएकाले आयोजाको निर्माणमा थप ढिलाइ हुने अवस्था आएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

‘ठेकेदार कम्पनीले आपत्ति जनाएको छ, काम नै रोक्नुपर्ने अवस्था आउँदा पनि हामीले केही गर्न सकेनौं’ उनी भन्छन् ।

४२ महिनाभित्र सक्ने गरी ४ कात्तिक २०७६ मा सुरुङमार्ग आयोजना निर्माण सुरु भएपनि मुआब्जासहित पूर्वतयारीको काममा भएको ढिलाइले आयोजना निर्धारित समयमा नसकिने निश्चित भइसकेको छ ।

लक्ष्यअनुसार काम हुने हो भने अबको ४ महिना अर्थात् आगामी वैशाखभित्र आयोजनाको काम सकिनुपर्छ । तर, अहिले मुख्य सुरुङमार्गको काम नै ठप्प भएको छ ।

मुख्य संरचनाको काम नै धेरै बाँकी रहेकाले आयोजना तोकिएको समयमा भन्दा पछि धकेलिने निश्चित भइसकेको छ । उद्घाटन गर्नुपर्ने सयममा आयोजनामा करिब आधा मात्रै काम सकिने अवस्था छ ।

पुससम्म मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्ड खन्ने काम करिब ७३.५ प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजनाका अनुसार मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर मुख्य सुरुङमार्गमध्ये करिब १ हजार ८०० मिटर सुरुङ खनिएको छ ।

वर्किङ अडिटको पुरै १२६ मिटरको काम सकिएको छ । वर्किङ पासेज १२८ मिटरमध्ये ७४.२ मिटर मात्रै निर्माण भएको छ । आयोजनाले साढे ९ सय मिटरभन्दा बढी सुरुङमा कंक्रिट लाइनिङ गरेको छ ।

३ वटा अन्डरपासको निर्माण सकिएको छ, ४ वटा बक्स कल्भर्ट बनेको छ । एउटा ओभरपास र ३ वटा पुल पनि तयार भइसकेका छन् ।

फ्लाइओभर निर्माणका लागि जग राख्ने काम हुँदैछ भने मुआब्जा वितरणको काम पनि पुरा हुन सकेको छैन ।

सडक खन्ने काम ७८ प्रतिशत सकिएको छ भने पुर्नका लागि गर्नुपर्ने काम करिब ६५ प्रतिशत सकिएको छ । कुल आयोजनामा अहिलेसम्म ४८ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ । अहिलेसम्म आयोजनाको कुल बजेटमध्ये करिब ५० प्रतिशत रकम खर्च भइसकेको छ ।

सुरुङसँग राजमार्गलाई जोड्न पहुँच सडक र फ्लाइओभरको ५ मध्ये ४ वटा संरचना निर्माण निर्माण भइसकेको छ ।

आयोजनाका अनुसार सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर (२ हजार ८७२) को पहुँचमार्ग बनाउनुपर्छ । यसका लागि गुर्जुधाराचोक र सुरुङको मुखमुनि दुईवटा फ्लाइओभर बनाउनुपर्छ । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुनेछ ।

कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन करिब १५० मिटर लामो अर्को फ्लाइओभर बनाउनुपर्छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि पुस २०७७ मा सुरुङमार्गमा खन्ने काम सुरु भएको थियो । २.६६८ किलोमिटर लामो यो सुरुङमार्ग वैशाख २०७७ देखि सुरु गर्ने योजना थियो ।

समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जा विवाद नसल्टिएको लगायत कारण देखाउँदै काममा ढिलाइ भएको थियो । समय–समयमा निर्माणमा आइरहेको व्यावधानका कारण पनि आयोजना तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा आइपुगेको हो ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराएको छ ।

नेपाल सरकारले ५ अर्ब ५३ करोड लगानी गर्ने यो सुरुङमार्ग बनेपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?