
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क १६.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सोमबारको २५औं वार्षिक साधारणसभामा आर्थिक वर्ष (आव) २०७८/७९ मा १ अर्ब ७७ करोड १६ लाख बीमा शुल्क आर्जन गरेको जानकारी दिएको हो । यो आव २०७७/७८को तुलनामा १६.४७ प्रतिशत बढी हो । चालु आव २०७९/८० को पुस मसान्तसम्म कम्पनीले ९० करोड २५ लाख बीमा शुल्क आर्जन गरिसकेको अध्यक्ष हेमराज ढकालले जानकारी दिए ।
कार्यक्रममा उनले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएका थिए ।
कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङसहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको जानकारी अध्यक्ष ढकालले गराएका थिए । निर्माण सम्पन्न भएपश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने उनको भनाइ छ ।
कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गरिरहेको जनाएको छ । आईजीआई हेल्थप्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आवमा उल्लेख्य सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमाको पहुँचलाई देशको सबै क्षेत्रमा पुर्याउने हेतुले ७ वटै प्रदेशबाट बीमा सेवा प्रदान गर्दै आइरहेको बताए । बीमा अर्थतन्त्रको एक उत्कृष्ट हिस्सा बनिरहेको भन्दै उनले नियमनकारी निकायको निर्देशनसहित लघु बीमा, कृषि तथा पशु बीमालगायत पारिवारिक स्वस्थ्य बीमालाई अगाडि बढाइने बताए ।
प्रतिक्रिया 4