
१० माघ, काठमाडौं । नेकपा एमाालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नेताहरुले राष्ट्रिय सहमतीको कुरा गर्नु साँघुरो चिन्तन भएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सहमति एजेण्डा र संवैधानिक प्रक्रियामा गर्नुपर्ने भन्दै उनले राष्ट्रिय सहमतिलाई हल्का रुपमा नलिन आग्रह समेत गरे । मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले भने, ‘मेरो सोधाई के छ भने रामचन्द्र दाइलाई पुस १० गते अगाडी त यो गीत गाउनु भएन । यो गीत अचानक किन आयो ?’
राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुहुन्न भन्ने आफ्नो भनाइ नभएको उनले बताए । तर राष्ट्रिय सहमति भनेको पदको बाँडफाँट नभएको भन्दै उनले भने, ‘राष्ट्रिय सहमति भनेको एजेण्डामा सहमति हो, संवैधानिक प्रक्रियामा सहमति हो । पदीय बाँडफाँटमा राष्ट्रिय सहमति एकदमै साँघुरो चिन्तन हो ।’
उनले राष्ट्रपतिको निर्वाचन तोकिएको समयभित्रै हुनुपर्नेमा जोड दिए । केही समस्या भएमा निर्वाचन आयोगले समाधान गर्नुपर्ने भन्दै उनले भने, ‘केही समस्या छ भने निर्वाचन आयोगले फुकाओस् र छिटोभन्दा छिटो तोकिएको समयभित्र राष्ट्रपतिको निर्वाचन होस् । एमालेसँग यसमा विवाद गर्नुपर्ने कुनै विषय छैन ।’
प्रतिक्रिया 4