+
+

राष्ट्रिय सभा उपनिर्वाचनका लागि एमालेबाट कुमार दसौदी उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते २०:१२

१० माघ, दाङ । लुम्बिनीमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले कुमार दसौंदीलाई उम्मेदवार चयन गरेको छ ।

उनलाई नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलको समर्थन रहनेछ । २५ माघमा हुने उपनिर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले निर्वाचन कार्यतालिका अनुसार ११ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने जानकारी दिए ।

नेपाली कांग्रेसले भने उम्मेदवारको टुंगो लगाएको छैन । कांग्रेसबाट दाङका वीरकेशरी गौतम, बर्दियाका अरुणप्रकाश राठौर र रोल्पाका माधवप्रसाद आचार्यको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेले भोली बिहानमात्र उम्मेदवारको नाम टुंगो लाग्ने बताए ।

कांग्रेस स्रोतका अनुसार बर्दियाका अरुणप्रकाश राठौरले टिकट पाउने बलियो सम्भावना छ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । २५ माघमा घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ।

उपनिर्वाचनका लागि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता, माघको १२ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालीका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जितेका छन् ।

त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ र स्वतन्त्र २ जनाले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?