
१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढेको छ । एकताबारे दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच मंगलबार दोस्रो पटक औपचारिक छलफल भएको छ ।
वार्ता समितिमा नटुंगिएको विषयमा आआफ्ना पार्टीभित्र छलफल गरेर सहमतिमा पुग्ने सहमति भएको नेसपाबाट वार्ता टोली संयोजक रहेका गंगानारायण श्रेष्ठले जानकारी दिए ।
‘वैचारिक कुरा वार्ता समितिमा टुंग्याउने र नटुंगिएको कुरा आआफ्ना पार्टीमा छलफल गर्ने कुरा भएको छ’, उनले भने ।
दुवै वार्ता टोलीबीच शनिबार विधान र राजनीतिक दस्तावेज आदान प्रदान भएको थियो ।
विधान र वैचारिक बिषयमा कुरा नमिले मिल्ने कुराहरु मात्रै राखेर अन्तरिम विधान र राजनीतिक घोषणा पत्र बनाएर जाने गरी छलफल भएको बताइएको छ ।
दुई पार्टीबीच एकतापछि समाजवादी केन्द्र नाम राख्नुपर्ने प्रस्ताव नेपाल समाजवादीको छ । तर, माओवादीले भने नेकपा पनि राख्नुपर्ने बताएको छ ।
यो विषयमा अहिले सहमति नभए विशेष महाधिवेशनमा टुंग्याउने गरी सहमति गरेर जान सकिने एक नेताले जानकारी दिए ।
समाजवादी मात्रै नाम राख्ने नेसपाको प्रस्तावमा माओवादीले विशेष महाधिवेशनसम्मका लागि ‘नेकपा’ र ‘समाजवादी केन्द्र’ दुवै राख्नुपर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया 4