
११ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गर्दा कृष्णबहादुर जिसी आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त नियुक्त भए । जिसीसहित चार मन्त्रीले बुधबार सपथ लिए ।
प्रदेशसभा सदस्यको पहिलो कार्यकालमै आन्तरिम मामिलामन्त्री बन्ने अवसर पाएका जिसी माओवादी केन्द्रभित्र इमान्दार र पार्टीभित्र व्यक्ति भन्दा विधि मान्ने नेताका रुपमा चिनिन्छन् । जिउ, हजुरी गर्न नजान्दा धेरै ठाउँमा पछि परेको भन्दै उनले भने, ‘अध्यक्ष प्रचण्डले राम्रोसँग चिन्नु हुन्न ।’
४ मंसिरमा सम्पन्न निर्वाचनमा सुर्खेत क्षेत्र नंम्बर १ (२) बाट निर्वाचित जिसीलाई टिकट पाउन पनि ठुलो संघर्ष गर्नु परेको थियो । पूर्वमन्त्री सिता नेपाली र जिल्ला संयोजक जितबहादुर राना लगायतका नेताहरु आकांक्षी थिए । तर जिसीले टिकट पाए । माओवादीको जनाधार कमजोर भएको क्षेत्रमा चुनाव जित्न अर्को संघर्ष गरे । नेपाली कांग्रेसको साथमा चुनाव जिते ।
मन्त्रीमा पनि प्रतिस्पर्धा नै थियो । मुख्यमन्त्रीमा दाबी गर्दै आएका विन्दमान विष्ट पनि मन्त्री बन्ने लाइनमा थिए । तर पूर्वमन्त्री विष्टलाई रोकेर उनी आन्तरिक मामिला मन्त्री बनेका छन् ।
२०५३ सालमा एमाले निकट अनेरास्ववियूको इलाका कमिटीबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी २०५५ मा माओवादी निकट विद्यार्थी संगठनमा जोडिएका थिए । भूमिगत कालमा ०५६ मा माओवादीले गठन गरेको पहिलो सैन्य संरचना स्क्वायडको सहकमाण्डर भए ।
०५८ मा माओवादी सुर्खेत जिल्ला कमिटीको सचिवालय सदस्य हुँदै जिल्ला सैन्य हेडक्वाटरको इन्चार्ज बने । ०५८ मै ५४ नम्बर प्लाटुनको कमिसार, ०५९ मा पार्टीको उपब्यूरो कमिटी सदस्य भएका जिसी ०६० मा जनमुक्ति सेनाको बटालियन कमिसार बनेका थिए ।
०६१ असोजमा जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर बने । माओवादी शान्ति प्रकृयामा आएपछि सुर्खेत जिल्ला कमिटीको विभिन्न तहमा काम गरेका जिसी हाल कर्णाली प्रदेश कमिटीको उपाध्यक्ष छन् ।
आन्तरिक मामिलामन्त्री जिसीले अन्तराष्ट्रिय सम्वन्ध (आईआर) विषयमा स्नातकोत्तर (एमए) गरेका छन् ।
प्रतिक्रिया 4