+

सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

२०७९ माघ  १२ गते १७:२२ २०७९ माघ १२ गते १७:२२
सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

२ माघ, काठमाडौं । सातौं वरीयताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औं वरीयताका रमेश अधिकारीलाई ७/६ ले हराउँदै दिनेश उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै दिनेशले ६० हजार प्राप्त गरे। दोस्रो भएका रमेशले ४२ हजार हात पारे ।

सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो नौ होलको खेलमा ४ होलको अग्रता बनाए ।

१८ होलको समाप्तिमा दिनेश आठ होलको फराकिलो अग्रता बनाउन सफल रहे। खेलमा फर्कने संकेत देखाएका रमेशले १९औं, २०औं, २१औं र २२औं होल लगातार जित्दै दिनेशको अग्रतालाई चार होलमा घटाए ।

दिनेशले २३औं होल जित्दा रमेशले २४औं र २५औं होल आफ्नो पक्षमा पार्दै दिनेशको अग्रतालाई तीन होलमा झारे । तर २६औं र २७औं होल आफ्नो पक्षमा पार्दै दिनेशले ५ होलको अग्रता बनाए। यसपछि दिनेशले २९औं र ३०औं होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाए ।

प्रतियोगितामा‌ आठौं वरीयताका धनबहादुर थापा तेस्रो भए। १८ होलको प्रतिस्पर्धा बराबरीमा टुङ्गिएपछि धनले प्ले-अफको पहिलो होलमा १०औं वरीयताका भुवन कुमार रोक्कालाई पराजित गरे ।

तेश्रो भएका धनले ३२ हजार र भुवनले २४ हजार प्राप्त गरे ।

क्वाटरफाइनलमा पराजित चार खेलाडीहरू  नेपाल नम्बर एक प्रो शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौ वरीयताका रबि खड्काले समान ११ हजार प्राप्त गरे ।

यसैगरी पहिलो चरणबाट बाहिरिएका टंक बहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजबाहक, प्रदीप कुमार लामा, सञ्जय लामा, सूर्य प्रसाद शर्मा, बलभद्र राई र रामे मगरले समान छ हजार प्राप्त गरे ।

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भएता पनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले भाग लिएका थिए ।

सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार छ ।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र ब्रान्ड म्यानेजर विदुरराज अधिकारीले पुरस्कार वितरण गरे ।

सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखरास्धित हिमालयन गल्फ कोर्षमा फाल्गुन १० गतेदेखि आयोजना हुनेछ।

सूर्य नेपाल गल्फ टुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय