
१२ माघ, जनकपुरधाम । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२, रामपुरका ४५ वर्षीय रामदेव मरिक डोम माघ ९ गते बिहानैदेखि चर्को तनावमा थिए । कारण थियो त्यही दिन ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थालाई तिर्नुपर्ने ऋणको ब्याजसहितको किस्ता ।
जेठो छोरा २० वर्षीय राजकुमारको बिहेका लागि उनले श्रीमती उर्मिलादेवीको नाममा १३ मंसिर २०७८ मा ९० हजार रुपैयाँ ऋण लिएका थिए । प्रत्येक महिनाको ९ गते ५ हजार रुपैयाँ किस्ता तिर्न पथ्र्यो । नियमित आयस्रोत केही नभएका उनीसँग त्यो दिन किस्ता तिर्ने पैसा थिएन । कसैले ऋण सापटी समेत दिएनन् । श्रीमती उर्मिला सो संस्थाको समूहको बैठकमा गइनन् । दिउँसो १२ बजे संस्थाका कर्मचारी किस्ताको पैसा लिन घरमै आइपुगे ।
रामदेवले आफू घरमा नभएको सुनाइदिन भनेका थिए । ‘बुबा घरमै हुनुहुन्थ्यो । तर किस्ता रकम कतैबाट उपान नहुँदा कर्मचारी आए घरमा नभएको सुनाइदिनु र भोलि १० गते तिर्ने भन्नुभएको थियो’ छोरा राजकुमारले भने ।
कर्मचारीले जसरी पनि आज किस्ता तिनुपर्छ, म साँझसम्म आउँछु भनेर फर्किए । राजकुमारका अनुसार साँझ ६ बजे फेरि कर्मचारी किस्ता लिन आइपुगे । अहिले नै किस्ता तिर्नुपर्छ भनेर करकाप गर्न थाले । ‘बुबाले आज उपाय भएन ।
लि कतैबाट उपाय गरेर तिर्छु भन्नुभयो’, राजकुमारले सुनाए, ‘कर्मचारीले भोलि जसरी पनि तिर्नुपर्छ भनेर झपाडेर फर्किनुभयो ।’
सापटी खोज्न साँझ गाउँतिर लागेका रामदेव राति खाली हात घर फर्केर खाना खाएर सुते । १० गते मंगलबार बिहान घरपरिवार उठ्दा उनको बिस्तारा खाली थियो । खोजबिन गर्दा घरभन्दा २०० मिटर पर आँपको रुखमा उनी झुण्डेको अवस्थामा मृत फेला परे ।
सप्तरीका डीएसपी नरेश सिंहका अनुसार बिहान ६ बजे रामदेव मृत फेला परेको खबर आएपछि प्रहरी टोली पुगेको थियो । ‘के कति कारणले आत्महत्या गर्नुभएको रहेछ खुलेको छैन’, डीएसपी सिंहले भने ।
उनको शव प्रहरीले मंगलबार नै गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पोस्टमार्टम गरेर परिवारलाई शव दिएपछि दाहसंस्कार गरेको छोरा राजकुमारले बताए । बुबाले ऋणकै तनावले आत्महत्या गरेको बताउँदै उनले भने, ‘उहाँलाई ऋण र किस्ताको बाहेक अरु केहीको तनाव थिएन ।’

सम्पत्तिको नाममा दुई कठ्ठा जग्गा रहेका रामदेवका दुई छोरा छन् । जेठो राजकुमार घरमै छन् भने १५ वर्षका कान्छो जितेन्द्र मरिक भारत, गुजरातको होटेलमा काम गर्छन् ।
रामदेवले जेठो छोराको विवाह गर्न २०७८ मंसिरमा विहेको कुराकानी अघि बढाए । भारत बिहराको सुपौल जिल्लाको चुन्नी गाउँमा दुलही भेटे । विहेको समय मंसिरको अन्ततिर गर्ने तय भयो । छोराको धुमधामसित विवाह गरे बुहारी भित्र्याउन रामदेवले २०७८ मंसिरमै ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार र महुली लघुवित्त वित्तीय संस्थाबाट ८५ हजार ऋण लिएका थिए ।
केटीपक्षको आफन्तको मृत्यु भएपछि छोराको विवाह वैशाखमा सरेको थियो । उनले हरेक महिनाको ९ गते आईएमई लघुवित्त वित्तीय संस्थालाई ५ हजार र महुलीलाई प्रत्येक महिनाको १६ गते ८ हजार ५०० किस्ता तिर्नुपथ्र्यो । किस्ता तिर्दै आउँदा ग्लोबल आईएमई लघुवित्तको ४४ हजार ३३२ साँवा र त्यसको ब्याज बाँकी रहेको थियो । त्यस्तै, महुलीको ४ हजार ३०३ रुपैयाँ तिर्न बाँकी छ ।
पोहोर वैशाख १ गते छोराको विवाह गरेका रामदेवको परिवार खुसी थियो । छोरा राजकुमारका अनुसार, लघुवित्तहरुको किस्ता तिर्न र अरु कामका लागि लिएको चानचुन २ लाख रुपैयाँ ऋण हुर्कदै गरेको ३५ वटा सुगुर बेचेर सहजै चुक्ता गर्ने योजनामा थिए, रामदेव । सुगुर पालन नै मुख्य पेशा भएका उनी गएको वैशाख या जेठमा ऋणमुक्त हुनेवाला थिए । तर जेठ महिनामै रामदेवको ऋण चुक्ता गर्ने सपनामा एकाएक बज्रपात भयो ।
नातामा रामदेवका भाइ पर्ने दिलीप मरिकका अनुसार सबै सुगुर किन्नका लागि एक व्यापारीले डेढ लाख रुपैयाँ दिने कबोल गरेका थिए । तर अझै बढी मूल्य पाउन सक्छु भनेर उनले सुगुर बेचेनन् । तर गत जेठमै एकाएक रोग लागेर रामदेवका सबै सुगुर मरे । उनको सुगुर बेचेर ऋण तिर्ने सपना चक्नाचुर भयो । बाँसको सामग्री बनाएर र कान्छो छोराले पठाउने थोरै ज्यालाले जसोतसो छाक टार्ने रामदेव सुगुर मरेपछि ऋण कसरी तिर्ने ठूलो तनावमा परे । त्यस यता चिन्ताले उनी पिरोलिएका थिए ।
प्रत्येक महिनाको ९ र १६ गते रामदेवका लागि सकस बनेर आउँथ्यो । तै पनि, हिम्मत नहारी त्यसलाई टारेर आएका थिए उनी । उताउताबाट सरसापटी गरेर जसोतसो किस्ता तिरि नै रहेका थिए । तर, उनलाई वैशाखसम्मको समय उनले पर्खिन सकेनन् ।
प्रतिक्रिया 4