
१३ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माघ १ मा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन भएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीलगायत सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
कार्यक्रमा मन्त्री शर्माले पत्रकारद्वय पौडेल र शाहीप्रति श्रद्धाञ्जली अर्पण गरिन् । पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सेन्टरका उपाध्यक्ष थिए भने शाही पोखरा महानगर समितिका सदस्य थिए ।
कार्यक्रममा बोल्दै मन्त्री शर्माले पत्रकार पौडेल सबैको प्रिय र सार्वजनिक व्यक्तित्व भएकाले उहाँको सकारात्मक पक्षलाई अनुकरण गर्नुपर्नेमा जोड दिइन् । उनले वर्तमान सरकार सञ्चार जगत र सञ्चारकर्मीको हितका खातिर लागिपरेको उल्लेख गरिन् ।
मन्त्री शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतिक्रिया 4