
१३ माघ, दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा सीता एयरको १९ सिटे ( ९ एन–एजेएच) जहाजले पहिलो उडान गरेको छ । शुक्रबार साढे १ बजेतिर टरिगाउँ विमानस्थलमा काठमाडौबाट दाङका लागि पहिलो उडान गरेको हो । पहिलो चरणको परीक्षण उडानसँगै सीताले नियमित उडानको तयारी गरेको हो । हप्तामा एक उडान दाङ–काठमाडौं रुटमा गर्ने तयारी छ ।
सीता एयरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले सहज–असहजका विषयमा गरिएको परीक्षण विस्तृत प्रतिवेदन आएपछि मात्रै उडान नियमित हुने जानकारी दिए । उनले हप्तादेखि १० दिन भित्रपछि व्यावसायिक उडान सुरु गर्ने जानकारी दिए । हप्तामा एकदिन उडान गरी सुरु गर्ने र यात्रुको माग अनुसार उडानको तालिका र समय थप्दै जाने योजना रहेको उनको भनाइ छ ।
जहाजका पाइलट रवीन्द्र डंगोलले धावनमार्ग विस्तार भए उडान र अवतरणमा सहज हुने बताए । चरा नियन्त्रण र विमानस्थलको उत्तरतर्फ रहेका घरमा राखिएका ट्यांकी, पोल हटाउनुपर्ने उनको भनाइ छ । यो विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले साताको ४ दिने तुलसीपुरमा उडान गर्दै आएको छ । यहाँ आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ ।
दाङ–काठमाडौंको न्यूनतम ८ हजार ८ सय १० रुपैयाँ र काठमाडौं–दाङको भाडा न्यूनतम ९ हजार १० रुपैयाँ रहेको छ । यहाँ ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग छ ।
प्रतिक्रिया 4