
१३ माघ, वीरगञ्ज । वीरगञ्जमा जारी प्याब्सन अन्तर विद्यालय नकआउट टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि साउथ जोन सेकेन्डरी स्कुल र मनकामना मावि भिड्ने भएका छन् । आदर्शनगर रंगशालामा शुक्रबार भएको सेमीफाईनल चरणका खेलमा जीत निकाल्दै उनीहरु उपाधिका दावेदार बनेका हुन् ।
गौतम माविलाई तीन विकेटले पराजित गर्दै साउथ जोन सेकेन्डरी स्कुलले अन्तिम दुईमा स्थान बनाएको हो । टस जितेर ब्याटिङ रोजेको गौतम माविले पुरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । १ सय ७ रनको लक्ष्यसहित साउथ जोन जवाफी ब्याटिङमा उत्रिएको थियो ।
१६ दशमलब ४ बल खेल्दा ७ विकेटको क्षतिमा साउथजोनले लक्ष्य भेट्टाउन सफल भयो । २ चौका र १ छक्कासहित २७ बलमा ३० रन जोडेर टिम जिताउन भूमिका निर्वाह गरेका साउथ जोनका चन्दन राम म्यान अफ दी म्याच घोषित भए ।
यसअघि शुक्रबार नै भएको पहिलो सेमीफाईनल खेलमा एमईएस माविलाई ५ विकेटले पराजित गर्दै मनकामनाले अन्तिम दुईमा स्थान बनाएको हो । एमईएसले टस जितेर ब्याटिङ गर्दै पुरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो ।
१ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मनकामनाले १६ दशमलब १ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । ४४ बलमा ७ चौका सहित ४५ रन जोड्न सफल मनकामनाका जय सर्राफ म्यान अफ दी म्याच घोषित भएको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।
शनिबार प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश उपाध्यक्ष गोपाल कार्कीको प्रमुख आतिथ्यतामा समापन समारोह आयोजना हुने कार्यक्रम संयोजक सुरज पटेलले जानकारी दिए। प्रतियोगितामा २५ वटा निजी तथा आवासिय विद्यालय सहभागी भएका थिए ।
प्रतिक्रिया 4