काठमाडौं । अक्सर महिला यौन सम्बन्धका लागि अग्रसर हुँदैनन् । कतिपय अवस्थामा आफ्ना पति एवं पार्टनरलाई सन्तुष्ट र खुसी तुल्याउन मात्र उनीहरू यौन सम्बन्ध राख्छन् ।
यौन सम्बन्धका बेला पनि पुरुष जति सक्रिय हुन्छन्, महिलाहरू त्यति हुँदैनन् । धेरैजसो महिला निष्क्रिय जस्तै हुने गर्छन् । के कारणले उनीहरूमा यौन चाहना कम भएको हो ? यसै विषयमा केन्द्रित रहेर मनोविद् करुणा कुँवरसँग गरिएको कुराकानी :
पुरुषको मुड चल्नासाथ आफू पनि यौनमा सरिक हुनका लागि महिलाहरू शारीरिक, मानसिक रूपमा तयार हुन्छन् ?
प्रायः यौनका लागि पुरुष नै अग्रसर हुन्छन् । जब पुरुषलाई यौनको रुचि जाग्छ तब महिला पनि तयार भइरहेका हुन्छन् । धेरै अवस्थामा पुरुषको मुड चल्नासाथ आफू पनि यौनमा सरिक हुन महिला शारीरिक, मानसिक रूपमा तयार भएका नभएकी पनि हुन सक्छिन् ।
प्राकृतिक रूपमा पुरुषहरू हरेक दिन यौनका लागि तयार हुन्छन् । तर महिलामा यौन रुचि कहिले बढी त कहिले कम पनि हुन्छ । ‘फर्टिलाइजेसन’को समयमा महिलामा यौन चाहना बढी हुन्छ भने अन्य समस्या कम हुन्छ । त्यसैले पुरुषको मुड चल्नासाथ महिला पनि तयार हुनुपर्छ भन्ने छैन ।
पुरुषलाई रुचि जाग्नासाथ महिलाले तयार हुनुपर्छ, यसबाट महिलाले पनि यौन सुख प्राप्त गर्छन् ?
पुरुषमा रुचि जाग्नासाथ महिला तयार हुँदा महिलाले यौन सुख प्राप्त नगर्न सक्छन् । किनकि यौन सुख प्राप्त गर्न महिला पनि तयार हुनु जरुरी छ । महिला यौनका लागि तयार छैनन् भने शारीरिक तथा मानसिक रूपमा पनि तयार हुँदैनन् जसले गर्दा यौन सुख भन्दा पनि पीडादायी हुन्छ । महिलामा पनि चाहना भए मात्र उनले यौन सुख प्राप्त गर्न सक्छिन् ।

महिलाले यौनमा तुरुन्तै सहभागी हुनुपर्दा कुनै पीडा हुन्छ कि ?
मानसिक र शारीरिक रूपमा तयार नभई यौन क्रियामा सामेल हुँदा योनी सुख्खा हुन्छ र पीडादायी हुन्छ । साथै पुरुषले जबरजस्ती गर्दा यौन सम्बन्ध राख्न खोज्दा पनि उनलाई पीडाको महसुस हुन्छ ।
यसरी श्रीमानमा यौन रुचि जाग्नासाथ उनीहरूले आफूलाई मानसिक रूपमा कसरी तयार गर्छन् ?
कस्तो व्यक्तिसँगको सम्बन्ध हो कति लामो सम्बन्ध हो यस्ता कुराले पनि महिलामा रुचि जगाउन सक्छ । महिला तयार छैन तर पुरुष तयार भएर उसले यौनको माहोल बनाएको छ र पार्टनरलाई हेरविचार गरेको छ, माया र सम्मान दिएको छ भने महिला पनि छिट्टै मानसिक रूपमा तयार हुन सक्छिन् ।
श्रीमानको मुड अनुसार यौनमा सहभागी हुनुपर्ने हुन्छ, यस्तोमा महिलालाई पनि समान रूपमा यौन रुचि जाग्न सक्छ ?
सम्बन्धको लागि श्रीमान् तयार छ तर श्रीमती तयार छैन भने सम्बन्ध नै हुँदैन भन्ने हुँदैन । यौन सम्बन्ध मात्र होइन, अन्य बेलाको सम्बन्ध पनि सुमधुर छ भने महिलामा पनि समान रूपमा रुचि जाग्न सक्छ ।
किन महिला यौनमा आफू चाहिं अग्रसर हुँदैनन् ?
सामाजिक र सांस्कृतिक रूपमा हाम्रो समाजका महिलालाई यौनको कुरा गर्न हुँदैन भनेर सानै उमेरदेखि सिकाइन्छ । महिलाले यौनको बारेमा चर्चा गर्दा चरित्रमाथि नै प्रश्न उठाउने पारिवारिक, सामाजिक प्रवृत्तिले यौनमा अग्रसर हुँदैनन् ।
प्राकृतिक रूपमा पनि फर्टिलाइजेसनको समयमा भन्दा अरू बेला महिलामा यौन चाहना कम हुन्छ जसले गर्दा पनि उनीहरू यौनमा पुरुष जति अग्रसर हुँदैनन् । तर पछिल्लो समयको शिक्षा र समाजको विकासले गर्दा यौनको बारेमा महिलाहरू पनि खुल्न थालेका छन् ।
श्रीमान् तयार नभएसम्म उनीहरूमा यौन रुचि नै जाग्दैन ?
श्रीमान् तयार नभएसम्म महिलामा यौन रुचि नै नहुने होइन । महिलाले पुरुषले जसरी आफ्नो चाहना खुलेर राख्न सक्दैनन् । उनले आफ्नो चाहना बतायो भने पनि श्रीमानले केही नराम्रो पो सोच्ने हो कि भन्ने डरले पनि आफ्नो रुचि बताउँदैनन् ।
महिलालाई अन्य कुन कुन अवस्थामा यौन सम्बन्ध पीडादायी हुन्छ ?
घर र कार्यालयको काम दुवै सम्हाल्दा महिलाको दैनिकी बोझिलो बन्छ । यसले उनीहरूमा शारीरिक तथा मानसिक थकान हुने गर्छ, फलतः यौनमा सक्रिय हुन जाँगर चल्दैन र सम्बन्ध पीडादायी हुन सक्छ ।
महिलामा यौन चाहना नहुँदा योनी सुख्खा हुन्छ, जसले गर्दा पनि यौन सम्बन्ध पीडादायी हुन सक्छ । पाठेघरको संक्रमण, यौन वा पिसाबसम्बन्धी संक्रमण तथा अन्य स्वास्थ्य समस्याले समेत महिलालाई यौनमा अरुचि जगाउँछ तथा पीडादायी पनि हुन्छ ।
प्रतिक्रिया 4