१५ माघ, काठमाडौं । क्रिकेट प्रशिक्षक मोन्टी देशाईले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण दिन सुरु गरेका छन् ।
नेपाल क्रिकेट संघ क्यानबाट आधिकारिक रुपमा प्रशिक्षक नियुक्त नभए पनि उनले प्रशिक्षकको कार्य भने सुरु गरिसकेका छन् । नेपाल क्रिकेट संघ क्यानले प्रशिक्षणमा बोलाएका २८ जना खेलाडीलाई उनले आइतबा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षण दिए ।
नियुक्ति प्रक्रियामा ढिलाइ भइरहँदा आसन्न शृंखलाका लागि कम समय रहेको भन्दै क्यानले विज्ञका रुपमा मोन्टीबाट सेवा लिएको हो ।
क्यानका क्रिकेट म्यानेजर विनोद दासले अनलाइनखबरसँग भने, ‘उहाँले नियुक्ति पाउनुभएको छैन । तर, त्यसकै कारणले प्रशिक्षण रोकेर कुर्ने समय नभएको हुनाले उहाँलाई विज्ञका रुपमा बोलाइएको हो । उहाँले आधिकारिक प्रशिक्षण सुरु गर्नुभएको होइन ।’
प्रशिक्षणका क्रममा उनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलसँग समन्वय गर्दै काम गरिरहेका थिए । मैदानको नेटमा ब्याटिङ र बलिङ सेसन भइरहेको थियो ।
मुख्य मैदानमा फिजियो विक्रम न्यौपाने र फिटनेस ट्रेनर अब्दुल सत्तारले खेलाडीको फिटनेस परीक्षण गराइरहेका थिए ।सूर्य तामाङ, मौसम ढकाल र अंकित सुवेदी राष्ट्रिय टिमको प्रशिक्षणमा देखिएका नयाँ अनुहार हुन् ।
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल र सन्दीप जोरा छन् ।
त्यस्तै, किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अभिनाश बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणमा छन् ।
पूर्व कप्तान तथा नेपाली राष्ट्रिय टिमका मुख्य स्पिन अट्याकर सन्दीप लामिछाने टिममा नपरेकाले दुई नयाँ स्पिनर मौसम ढकाल र सूर्य तामाङलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाइएको हो ।
मौसम ढकाल प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा इमर्जिङ खेलाडी बनेका थिए भने सूर्य तामाङ नेपाल टी–२० लिगको इमर्जिङ खेलाडी हुन् ।
सन्दीप थुनामुक्त भए पनि उनलाई राष्ट्रिय टोलीमा फर्काउने विषयमा भने क्यानले १७ गतेको बोर्ड बैठकबाट निर्णय गर्नेछ । त्यस्तै, प्रशिक्षक मोन्टी देशाइको नियुक्तिलाई लिएर पनि १७ गतेको बोर्ड बैठकले निर्णय गर्नेछ ।
प्रशिक्षणका थप तस्वीरहरु हेर्नुहोस् :









तस्वीरहरू : चन्द्र बहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4