
१५ माघ, काठमाडौं । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी फैसला गर्यो ।
विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिएको आरोप खेपेका लामिछानेको मुद्दामा अदालतले लामिछानेलाई दोषी ठहर गरेसँगै फैसलालाई लिएर गैरआवासीय नेपालीहरु विभिन्न कोणमा विभाजित भएका छन् ।
कतिपयले यो फैसलाबाट गैरआवासीय नेपालीको अधिकार खुम्चिने प्रतिक्रिया दिएका छन् । केहीले भने नागरिकताका विषयमा मात्र आएको यो फैसलाबाट आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धिसागर लामिछानेले संघको फेसबुक पेजमा लेखेका छन्, ‘एक पटकको नेपाली अब सधैंको नेपाली हुन सक्दैन भन्दै ढोका बन्द गरिनु दु:खद् हो ।’
लामिछानेले सर्वोच्चको नाम नलिई नागरिकतासम्बन्धी फैसलाको विरोध गरेका छन् । उनी भन्छन्, ‘एक पटकको नेपाली सधैंको नेपाली भन्ने गैरआवासीय नेपालीहरुको मूलमन्त्रलाई खिया लगाउने खालका कतिपय गतिविधि र निर्णय भइरहेको देख्दा र सुन्दा दुःखी भएको छु ।’
गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले समेत फैसलालगत्तै अनलाइनखबरसँग प्रतिक्रिया दिंदै नेपाल फर्केर केही गर्छु भन्ने गैरआवासीय नेपालीलाई फैसलाले ठेस लागेको बताएका थिए । गैरआवासीय नेपालीले विदेशमा रहे पनि आफ्नो मुलुक फर्केका दिन नेपाली भन्न पाइयोस् भन्ने माग राखेर नेपाली नागरिकताको निरन्तरताको माग गरेको अध्यक्ष केसीको भनाइ छ ।
धेरै गैरआवासीय नेपालीले सामाजिक सञ्जालमा उठाएको सन्दर्भ हो, ‘कोही मान्छे मर्यो भन्नेमा होइन, कतै काल पो पल्किएको हो कि !’ यसलाई सिमानामा रहेर भारतीय रासन कार्डको सुविधा लिनेदेखि लाहुरे भर्ति भएपछि पाइने ‘आइडी कार्ड’सम्मको सुविधा पाएका नेपालीको सुविधा के हुन्छ भन्ने चासो धेरैमा छ ।
तर यसरी आत्तिनुपर्ने अवस्था नरहेको ठान्नेहरु पनि उत्तिकै छन् ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्मा यिनैमध्ये एक हुन् । रवि लामिछानेको नागरिकतासम्बन्धी फैसलाले विदेशको नागरिकता नत्यागेका वा विदेशमा नै बसेका नेपालीलाई कुनै सरोकार नराख्ने उनी बताउँछन् ।
सामाजिक सञ्जालमा आफ्नो टिप्पणी राख्दै उनी भन्छन्, ‘रविको पक्षमा फैसला आएको भए विदेश र नेपालको दुवै नागरिकता एकै साथ प्रयोग गर्न पाइन्थ्यो भन्ने तर्क देखियो, यो पटक्कै होइन, यो तर्क रविको पनि थिएन, उनको तर्क नेपालको नागरिकता त्याग गरेको घोषणा नगरेकाले नेपालको नागरिकता पुनः प्राप्ति गर्न सम्बन्धित निकायमा निवदेन दिनुपर्दैन, विदेशी नागरिकता परित्याग गर्नेवित्तिकै नेपालको पहिलेको नागरिकता स्वतः कायम रहन्छ, जुन कुरालाई अदालतले अस्वीकार गर्यो ।’
रविको फैसला विदेशी नागरिकता त्यागेर नेपाल फर्कनेहरुका विषयमा मात्र सम्बन्धित रहेको उनी बताउँछन् ।
गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सिना रवि नागरिकतामा भएको फैसला ऐतिहासिक भएको बताउँछन् । विदेशमा बसेका नेपालीले नेपालमा लगानी र प्रविधि भित्र्याएर देशको विकास साथ दिन मात्रै चाहेकोमा सर्वोच्चको फैसलाले राजनीतिक अधिकारको बाटो समेत खोलेको तिमल्सिना बताउँछन् ।
‘हामीले मागेको अधिकार त राजनीतिक थिएन’ तिमल्सिना भन्छन् ‘रविको घटनामा सर्वोच्च अदालतले त तिमी विदेश भए पनि त्यहाँको नागरिकता छोडेर फर्किएको अवस्थामा नेपालमा राजनीतिक अधिकार पनि छ भन्ने बुझिन्छ ।’ विदेशमा रहेको नेपालीले विदेश छोडेर आएको अवस्थामा नेपालको प्रक्रिया पूरा गरेको अवस्थामा राजनीतिक अधिकार पाउनु निकै ठूलो कुरा हो ।
फैसलाको प्रभाव कहाँ पर्छ ?
आजसम्म विदेशी नागरिकता लिएर पनि नेपालको नागरिकता नत्यागेकाहरुलाई भने रविको पक्षमा फैसला आएको भए सहज हुनेथियो । उपाध्यक्ष शर्माका अनुसार त्यस अवस्थामा विदेशको नागरिकता भए पनि नदेखाई नेपालकै पुरानो नागरिकताका आधारमा गरेको घर, जग्गा, व्यवसायमा गरेको लगानीले वैधानिकता पाउँथ्यो । यसरी दुई वटा नागरिकता लिएर दुवैतर्फ व्यवसाय, कारोबार गरिरहेकाहरु भने अब समस्यामा पर्न सक्छन् ।
तर, यस अगाडि यी विषयलाई कुनै कानुनले सम्बोधन नगरेका कारण सर्वोच्चको फैसला एक नजिर बन्छ र आगामी दिनमा यसले कानुनको रुप लिन्छ । आजसम्म भएका यस्ता गतिविधिलाई मध्यनजर गरी प्रस्तावित गैरआवासीय नेपाली सम्बन्धी ऐनमा विशेष व्यवस्था हुने समेत शर्माले जानकारी दिएका छन् ।
पैतृक सम्पत्तिमा असर गर्दैन
डा. शर्माका अनुसार नेपालको पैतृक सम्पत्ति, अंशबण्डा, अपुताली लगायत सम्पत्तिको अधिकार र विदेशको नागरिकता लिनुभन्दा पहिले नेपालको नागरिकको हैसियतले लिएको आफ्नो सम्पत्तिको उपभोग विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिले गर्न सक्ने अधिकार संविधानमै सुरक्षित गरिएका कारण यो अधिकार नागरिकतासँग सम्बन्धित फैसलाले नखोस्ने बताइएको छ ।
रविको पक्षमा आएको भए पनि यो फैसला दोहोरो नागरिकताको प्रावधान नभएका देशमा बस्ने दोस्रो पुस्ताका नेपालीको पक्षमा भने हुने थिएन । किनकि दोस्रो पुस्ताका नेपाली नागरिकसँग नेपालको नागरिकता छैन ।
उनीहरुले विदेशको नागरिकता त्यागेर नेपाल आएमा नेपालको कानूनी प्रक्रिया पूरा गरेर यहाँको नागरिकता लिनुपर्छ ।
दोहोरो नागरिकता नभएका देशमा बस्ने नेपालीले सो मुलुकको नागरिकता लिंदा नेपालको नागरिकता सो मुलुकमा बुझाउनुपर्छ । यस अवस्थामा ती नेपालीहरु नेपाल आउन चाहेमा स्वाभाविक रुपमा नागरिकता पुनःप्राप्तिको प्रक्रियामा जानुपर्छ ।
गैरआवासीय नेपालीको हितमा फैसला
रविको नागरिकता प्रकरणमा सर्वोच्चले गरेको फैसलामा गैरआवासीय नेपालीको हितमा रहेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् । सर्वोच्चको फैसलाले रविले विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको बारेमा मात्रै बोलेकाे उनको भनाइ छ ।
‘गैरआवासीय नेपालीको नागरिकता र उनीहरुले नेपालमा पाउने अधिकारबारे संविधानमै प्रष्ट व्यवस्था भएकाले फैसलाले कुनै असर नगर्ने देखिन्छ’ त्रिपाठी भन्छन् ‘बरु जुनसुकै बेला विदेशी नागरिकता त्यागेर आए पनि कुलिङ पिरियड विनै राजनीतिक अधिकार पाउने कुरा फैसलामा बोलिएको छ ।’
विदेशी नागरिकता भए पनि गैरआवासीय नेपाली नागरिकता लिन सक्ने अधिकार भए पनि दुई देशको नागरिकता लिएर राजनीतिक अधिकार नपाइने कुरा मात्रै फैसलाको मर्म भएको उनले बताए ।
प्रतिक्रिया 4