
१५ माघ, पोखरा । गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजेका नीति तथा योजना निर्माण गर्ने सारथिलाई नै अहिलेका मुख्यमन्त्री खगराज अधिकारीले पनि दोहोर्यायाएका छन् । सुरुदेखि नै गण्डकी प्रदेशको विकासको सूचक तयार गर्ने, आधार खोज्ने र योजना निर्माणको काम गरेका डा. गिरिधारी शर्मालाई नै मुख्यमन्त्री अधिकारीले नीति तथा योजना आयोगको उपाध्यक्षमा ल्याएका हुन् ।
गण्डकी प्रदेशको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा. गिरिधारीलाई नै दोहोर्याउने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला मन्त्री रोशन गाहामगरले जानकारी दिए । लामो समय युनिडिपीमा काम गरेका डा. गिरिधारीसँग योजना निर्माणमा विशेष अनुभव रहेकाले नै फेरि दोहो¥याएको मुख्यमन्त्री खगराजको भनाइ छ ।
डा. गिरिधारी स्याङ्जाका वासिन्दा हुन् । अघिल्लो पटक युएनडीपीको राष्ट्रिय आयोजना प्रबन्धकबाट राजीनामा दिएर आएपछि नीति तथा योजना आयोगमा उपाध्यक्ष नियुक्त भएका थिए ।
२०७४ माघ २९ गते मुख्यमन्त्री नियुक्त भएर फागुन ४ गते सरकार गठन गरेका पृथ्वीसुब्बाले अनुभवी र संघीयताको मर्मअनुसार योजना निर्माण गर्ने व्यक्ति पाइरहेका थिएनन् ।
नीति तथा योजना आयोगमा नियुक्त गर्ने उचित व्यक्ति युएनडीपीबाट नेपालको योजना निर्माणमा काम गरिरहेका डा. गिरिधारी शर्मा हुन सक्ने स्याङ्जाका सांसद मीनप्रसाद गुरुङले पृथ्वीसुब्बासम्म पुर्याए । सुरुमा मीनप्रसादले नै प्रस्ताव गरे र पछि पृथ्वीसुब्बाले काठमाडौंमा भेटेर सहयोग गर्न आग्रह गरेका थिए ।
‘आर्थिक हिसाबले तपाईंलाई घाटा होला । प्रदेशलाई जग हाल्ने दायित्व र जिम्मेवारी हाम्रो काँधमा छ । तलब कम होला आउनुस्, मिलेर काम गरौं भनेर पृथ्वीसुब्बाले भनेपछि हार्न सकेको थिइनँ’, डा. गिरिधारीले भने, ‘खगराजजीले मुख्यमन्त्री भएसँगै सहयोग गर्नुपर्छ है भन्नुभएको थियो । अघिल्लो हप्ता पोखरा आउँदा आग्रह गर्नुभएको हो ।’
२०७५ साउन ११ गते नियुक्त भएका शर्मा गण्डकी प्रदेशमा पृथ्वीसुब्बाको सरकार ढलेपछि फेरि काठमाडौं फर्किएर युएनडीपीमै नेपालको दिगो विकास लक्ष्य सल्लाहकारका रुपमा पूर्णकालीन जागिर खाइरहेका थिए । सोमबार राजीनामा बुझाएर १÷२ दिनभित्र गण्डकीको नियुक्त हुन आउने उनले बताए ।
नेपाल परिवार नियोजन संघमा शाखा अधिकृत हुँदै विशिष्ट श्रेणीका कर्मचारीबाट अवकाश लिएका शर्माले थाइल्यान्डको एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट डेभलपमेन्ट प्लानिङमा एमएस्सी र पिएचडी गरेका छन् ।
युएनडीपीबाट राजीनामा दिएर दोस्रो पटक गण्डकीको नीति तथा योजना आयोगमा ल्याएका खगराजसँग शर्माको विद्यार्थी कालदेखिकै सम्बन्ध हो । उनीहरु दुबै जना पोखराको पृथ्वीनारायण क्याम्पमा आईए सँगै पढेका थिए ।
‘हामी क्याम्पसमा सहपाठी पनि हौं । प्रदेशको जग हाल्ने बेलादेखि सरकारको योजना निर्माण काम गरेकाले खगराजजीले सुरुदेखि नै सहयोग चाहिन्छ भन्नुभएको थियो’, शर्माले भने, ‘म गण्डकी फर्केसँगै सुरु निर्माण गरेको योजना र लक्ष्यमा यो ५ वर्षमा कति काम गर्न सकियो, सकिएन भन्ने मूल्यांकन गरेर काम थाल्ने छु ।’
डा. शर्माको खासियत भनेकै राजनीतिक कार्यक्रमलाई बुझेर योजना निर्माण गर्ने भएको गण्डकीका पूर्व अर्थमन्त्री किरण गुरुङको भनाइ छ । ‘युएनडीपीबाट प्रतिनिधित्व गर्दै योजना आयोगमा बसेर योजना बनाउन सहयोग गरे । योजना कसरी बनाउने भन्ने अनुभव तथा ज्ञान थियो । उनी आफैं प्रस्ताव लिएर पनि आउँथे’, गुरुङले भने, ‘शून्य अवस्थाबाट गण्डकीमा नीति तथा योजनाको जग बसाल्न उनको योगदान छ ।’
शर्माले प्रारम्भिक विकासको प्रतिवेदन तयार पार्दै समग्रमा गण्डकी प्रदेशको मुख्य मुख्य सवालहरु ल्याएका थिए भने प्रदेशको विकासको स्थितिपत्र समेत तयार पारेका थिए । पञ्चवर्षीय वर्षीय योजना बनाउने, दिगो विकासको लक्ष्यमा गण्डकी प्रदेश कहाँनेर छ भन्ने रिपोर्ट तयार पार्ने, मन्त्रालयका कार्यविधि बनाउनेसम्मका काममा गिरिधारी लागेका थिए ।
सुरुको सरकारकै कार्यक्रम, लक्ष्य र प्राथमिकता निर्धारण गर्न मुख्यमन्त्रीको सारथि बनेका डा. गिरिधारीलाई अहिले केही सजिलो त होला तर उत्तिकै चुनौतीपूर्ण पनि गरेको एमालेकै सांसदहरु बताउँछन् ।
‘पृथ्वीसुब्बा नेतृत्वको सरकारले प्रदेशको विकासको आधार त तयार पा¥यो तर कार्यान्वयन नै हुन सकेन भने कति त विवादित नै बने । अहिले झन् संघीयतामाथि चौतर्फी प्रहार भइरहेका बेला मुख्यमन्त्रीका योजना सारथिमा झनै ठूलो चुनौती छ,’ एक सांसदले भने, ‘संघीयतालाई बलियो बनाउन मुख्यमन्त्रीलाई नीतिगत तथा योजनाको तहबाट अब्बल सहयोग नभइ नहुने अवस्था छ ।’
आइतबारको मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा डा. गिरिधारीसँगै अन्य २ जना सदस्य पनि नियुक्त गरेको छ । तनहुँका डा. सुवास अधिकारी र कास्कीकी डा. सीता खत्री सदस्यमा नियुक्त भएका छन् ।
डा. अधिकारी यसअघि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा पनि सदस्य थिए । उनी माओवादी कोटाबाट सदस्यमै दोहोरिएका हुन् । कास्कीकै डा. क्षेत्री एमाले कोटाबाट सदस्य नियुक्त भएकी हुन् ।
प्रतिक्रिया 4