
१६ माघ, काठमाडौं । भैरहवामा २ जेठ २०७९ देखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म २८ हजार ४८० जना यात्रुलाई सेवा दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट १४ हजार ५२२ जना यात्रु अवतरण गरेका छन् । १३ हजार ९५८ जना यात्रु विदेशिएका छन् । यो विमानस्थलमा जजिरा एयरवेजले सञ्चालनको पहिलो दिनबाटै उडान थालेको थियो ।
मौसमका कारण उडानहरु रद्द हुन थालेपछि अहिले यहाँ अन्तर्राष्ट्रिय उडान नियमित छैन । केही सयम यहाँ हिमालय एयरलाइन्सले समेत अन्तर्राष्ट्रिय उडान गरेको थियो । यो विमानस्थलमा कुल २४८ वटा उडान भएका छन् । जसमा उडान र अवतरण समान १२४ छन् । नेपालमा अहिले तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन् । तर, पोखरा अन्तर्राष्ट्रिय उडानबाट भने अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान भएको छैन ।
भैरहवाले आन्तरिकतर्फ भने एक वर्ष (सन् २०२२)को अवधिमा ६ लाख ८७ हजार ७० जना यात्रुलाई सेवा दिएको छ । यस विमानस्थलबाट ३ लाख ४७ हजार २६१ जना यात्रु भैरहवा अवतरण गरेका छन् । भैरहवाबाट भने ३ लाख ३९ हजार ८०९ जना यात्रु उडेका छन् । आन्तरिक उडानमा पोखरा र भैरहवा सबैभन्दा ठूला हव विमानस्थल हुन् ।
प्रतिक्रिया 4