
काठमाडौं । ललितपुर महानगरपालिकाका महिला वडा सदस्यहरुले स्थानीय तहमा आफूहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार ललितपुरमा आयोजित सशक्तीकरण गोष्ठीमा ललितपुर महानगरपालिकाका २९ वटै वडाका महिला सदस्यहरुले उचित जिम्मेवारी र बजेट नहुँदा सर्वसाधारणको अपेक्षा अनुसार आफूहरुले काम गर्न नसकेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपाली महिलालाई राजनीतिमा आउन र निर्वाचनमा टिकट पाउन, विजयी हुन थुप्रै अवरोध हुने गरेको बताइन् । ‘यस पटक दलबीचको गठबन्धनको कारणले महिलाको राजनीतिक सहभागितामा आएको संकुचन आगामी दिनमा नदोहोर्याउन नीतिगत रूपमै व्यवस्था गर्नुपर्छ,’ उनले भनिन् ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफूले पञ्चायतकालदेखि नै राजनीति गरेको अनुभवमा महिलाले राजनीतिमा जमेर काम गर्न अझै पनि चुनौतीपूर्ण रहेको बताए । निर्वाचित भएर आएका महिला सदस्यलाई जिम्मेवारी बाँडफाँट गरी काम गर्ने वातावरण दिएर अगाडि बढ्न प्रेरित गर्नुपर्ने उनको भनाइ थियो ।
ललितपुर महानगरका २९ वडामध्ये कुनैमा पनि महिला वडाध्यक्ष छैनन् ।
कार्यक्रममा वडा सदस्य रञ्जु तोलांगीले वडामा महिला सदस्यको जिम्मेवारीमा रहेदेखि सर्वसाधारणले आफ्नो जुनसुकै समस्या पनि वडामा गएपछि समाधान हुने अपेक्षा राख्ने तर महिला सदस्यलाई जिम्मेवारी नदिने, कतै कार्यक्रममा बोलाए पनि पदको आधारमा व्यवहार गरेको देख्दा दुःख लाग्ने बताइन् ।
प्रतिक्रिया 4