
१६ माघ, बुटवल । लुम्बिनीमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ । उपनिर्वाचनमा सोमबारसम्म उम्मेदवारी फिर्ताको समय रहेकामा नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले फिर्ता लिएनन् ।
निर्धारित समय अवधिभित्र रायले उम्मेदवारी फिर्ता नगरेपछि निर्वाचन आयोगले सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमाले, नागरिक उन्मुक्ति र नेपाली कांग्रेसका तीनजनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।
सत्ता गठबन्धनबाट नेकपा एमालेबाट रोल्पाका कुमार दसौदी र नागरिक उन्मुक्तिका राय तथा नेपाली कांग्रेसबाट कांग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका थिए ।
नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ ।
निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न प्रदान गरिएको जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो पार्टी सत्ता गठबन्धनमा नरहेको बताइन् । नागरिक उन्मुक्तिले मुख्यमन्त्री नियुक्त हुंदा र विश्वजासको मत लिंदा भने सत्ता गठबन्धनमा उभिएको थियो ।
राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन् । जसमा २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ८७ जना प्रदेशसभा सदस्यहरु रहनेछन् ।
स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।
प्रदेशमा एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मतभार छ । एमालेका २९ जना प्रदेश सांसद छन् भने स्थानीय तहतर्फ प्रमुख ९, अध्यक्ष १८, उपप्रमुख १६, उपाध्यक्ष २४ गरी ६७ जना छन् ।
नेपाली कांग्रेसका २७ सांसद छन् । जसको मतभार १ हजार २९६ मतभार हुन्छ । स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कूल ९२ जना छन् । उनीहरूको मतभार १ हजार ६५६ हुन्छ । यसअनुसार कांग्रेससँग कूल २ हजार ९५२ मतभार छ ।
माओवादीसँग प्रदेश र स्थानीय तहतर्फ कूल १ हजार १६६ मतभार छ । प्रदेशसभामा माओवादीका १० सांसद रहँदा स्थानीय तहमा ४० मतदाता छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको मतभार २४६, जनता समाजवादी पार्टीको २५२, लोकतान्त्रिक समाजवादी पार्टीको २१६, नागरिक उन्मुक्तिको १९२, जनमत पार्टीको १४४, राष्ट्रिय जनमोर्चाको १२०, एकीकृत समाजवादीको ४८, जनता प्रगतिशील पार्टीको ३६ र स्वतन्त्र २ सांसदको मतभार ९६ छ । यस हिसाबले सत्ता गठबन्धनको मतभार ४ हजार ५९६ रहेको छ । जुन कांग्रेसको भन्दा १ हजार २५४ ले बढी हो ।
कांग्रेसलाई लोसपा, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको मतभार जोड्दा पनि ३ हजार ३४२ हुन्छ । यस हिसाबले लुम्बिनीमा नेकपा उमालेका उम्मेदवारको जित निश्चित जस्तै छ ।
जनता प्रगतिशील पार्टी र २ जना स्वतन्त्र सांसद अहिलेसम्म अनिर्णित छन् ।
प्रतिक्रिया 4