
१७ माघ, काठमाडौं । शहरी विकास मन्त्रालयले सभामुख देवराज घिमिरेलाई लैनचौरस्थित सरकारी निवासमै बसाउने प्रयास गरेको छ ।
निवर्तमान सभामुख अग्नि सापकोटा बस्दै आएको लैनचौरस्थित सरकारी निवासमा बस्न वर्तमान सभामुख घिमिरेले आनाकानी गरिरहेका छन् । संसद सचिवालयका आन्तरिक व्यवस्थापन शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार सभामुखले लैनचौरस्थित सरकारी निवासमा दीर्घकालीन बसोबास हुन नसक्ने भएकाले नयाँ खोजी भएपछि सीधै त्यहीं सर्ने बताएका छन् । नयाँ आवासको खोजी शहरी विकास मन्त्रालयले गर्ने पराजुली बताउँछन् ।
तर, शहरी विकास मन्त्रालयले सभामुखको निवासका लागि नयाँ ठाउँको खोजी गरेको छैन । ‘पहिला पनि सभामुख बस्दै आउनुभएको ठाउँ हो । त्यहीं जानुस् भनेका हौं तर, उहाँ (सभामुख घिमिरे) ले निर्णय दिनुभएको छैन’, शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सहसचिव कुमार घिमिरेले भने ।
संसद सचिवालय र शहरी विकास मन्त्रालयले सभामुखका लागि नयाँ निवासको खोजी नगरी लैनचौरमै बसाउने प्रयास जारी राखेका छन् । तर, सभामुख घिमिरे लैनचौर गएका छैनन् ।
घिमिरे गत माघ ५ गते सभामुखमा निर्वाचित भएका थिए ।
सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसिरहेका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा पदबाट हटेपछि अध्यक्ष तिमिल्सिना सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा सरेका थिए ।
त्यसपछि सभामुख भएका सापकोटालाई लैनचौरस्थित सरकारी निवासमा राखिएको थियो । उपसभामुखमा इन्दिरा रानामगरले पनि सरकारी निवास पाएकी छैनन् ।
प्रतिक्रिया 4