
१८ माघ, काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमै ढल फुटेर बिजोग भएको छ ।
हिजो मंगलबारदेखि बगेको फोहोर आज बुधबार बिहानसम्म सफा गरिएको छैन । ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ । त्यही माथिबाट गाडीहरु गुड्दा अनामनगर घट्टेकुलो चोकसम्मै सडक फोहोर भएको छ । पैदलयात्रुहरुलाई बाटो छिचोल्नै कठिन भएको छ ।
एक जना स्थानीयले त्यही फोहोरमा चिप्लिएर दुई जना मानिस लडेको देखेको बताए । ‘दुई जना मानिसहरु ढलमा चप्लिएर लडेको मैले देखें । सडक पूरै फोहोरै फोहोर छ, तर सफा गरिएको छैन,’ प्रत्यक्षदर्शी बुद्ध परियारले भने ।
पूर्वी गेटबाट कार्यालय समय सुरु हुने बेला कर्मचारीहरुलाई प्रवेश दिइन्छ । त्यही बाटो हुँदै कार्यालय समय सकिएपछि सिंहदरबारबाट बाहिरिन पाइन्छ । अरु बेला पूर्वी गेट बन्द हुन्छ ।
आज बिहान कार्यालय समयमा सिंहदरबार प्रवेश गर्दा फोहोरले सास्ती व्यहोरेको एक कर्मचारीले बताए । ‘कपडा र जुत्तामा फोहोर लाग्यो, अरु साथीहरुको अवस्था पनि मेरो जस्तै थियो,’ ती कर्मचारीले भने ।
प्रतिक्रिया 4