
१८ माघ, काठमाडौं । सरकारी साक्षी बनेर अदालतमा बयान फेरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भावना महतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महतले डेढ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले विशेष अदालतमा भष्ट्राचार मुद्दा दायर गरेको थियो ।
अख्तियराले उनलाई घुस दिने भावनालाई मुद्दाको अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरेको थियो ।
तर भावनाले विशेष अदालत, काठमाडौंसमक्ष वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टी हुन आएको भन्दै आयोगले उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको मतियारमा कसुर भएको दाबीसिहत डेढ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।
उनीमाथि अख्तियारले राष्ट्रसेवकलाई हुने सजायको आधा सजाय माग दाबी गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4