
१९ माघ, काठमाडौं । सम्झौता नवीकरण नगरेपछि भारतीय टेलिभिजन स्टार इण्डियाले नेपालको डिसहोममा आफ्ना ३२ वटा च्यानलहरुको प्रसारण बन्द गरिदिएको छ । लामो समयसम्म बक्यौता नतिरेपछि यसअघि ३ पुसमा पनि स्टार इण्डिया सेवा बन्द गराएको थियो । तर, पछि बक्याैता तिर्ने सहमति गरेर च्यानल सुचारू गरिएको थियो ।
स्टार इण्डियाले प्याकेजको मूल्य आफुखुसी बढाएकाले वार्षिक रुपमा गर्नुपर्ने सम्झौता नवीकरण नगरिएको डिसहोम मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । यसका कारण स्टारका च्यानलहरुको प्रसारण बन्द भएको छ ।
नेपालमा स्टार प्याकेज अन्तरगत ३२ वटा च्यानलहरु प्रसारण हुन्छन्, जसमध्ये स्टार, स्टार स्पोर्टस, स्टार गोल्ड लगायतका च्यानल नेपाली दर्शकमाझ लोकप्रिय छन् । खरिद गरिसकेको टेलिभिजन प्याकेजमा स्टारका च्यानलहरु नभएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।
विदेशी च्यानहरुले ग्राहक संख्याका आधारमा मात्रै शुल्क लिन पाउने नियम बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरिएको प्रबन्ध निर्देशक आचार्यले बताए । ‘भारतीय च्यानलले दादागिरी गरे,’ आचार्य भन्छन्,‘अब नेपाली टेलिभिजन सामग्रीलाई बलियो बनाउन लगानी गर्नुपर्छ ।’
नेपालमा स्टारसहित सोनी, कलर्स लगायतका च्यानलहरुको प्याकेज बिक्री हुँदै आएको छ, जसबापत भारतीय च्यानलहरुले वर्षमा अर्बौं रुपैयाँ नेपालबाट लगिरहेका छन् ।
पछिल्लो समयमा डिस मिडिया र बिभिन्न भारतीय कन्टेन्ट सर्जकहरूवीच बिबाद चलिरहेको छ । भुक्तानी र कम्प्लाइन्ससँग सम्बन्धित मापदण्ड पुरा नगरेका कारण डिसहोमसँग बिबाद भएको स्टार इन्डिया स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4