
आत्मदाहको पृष्ठभूमि
एकजना युवा प्रेम आचार्यले आत्मदाह गरेको घटनाले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ। यो दु:खद घटनाले सयौं प्रश्न खडा गरेको छ। तर दु:खद कुरा एकजना युवाले सरकार र अहिलेको राज्य प्रणालीमाथि प्रश्न उठाउँदै आफ्नो शरीर आफैं जलाएर मृत्युवरण गर्दा पनि यो सरकार र नेताहरूलाई पटक्कै छोएको देखिंदैन। यो घटनाको कारण र समग्र युवावर्गमा कस्तो असर पर्छ ? अब आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिन अवलम्बन गर्नुपर्ने उपायबारे सरकारले अर्थपूर्ण निर्णय गर्ने संकेत पनि गरेको छैन।
आत्मदाह न कुनै रहरको विषय हो न त सामान्य घटना। यो राज्य, सरकार र सत्ताप्रतिको आक्रोश र कठोर विद्रोह हो। यो आत्मदाहले एकातिर आजका युवाले झेल्नु परिरहेको पीडाको पर्दाफास गरेको छ भने अर्कोतिर जनताको नाममा सत्ताको कुर्सीमा बसिरहेकाहरूलाई झापड पनि हानेको छ। पूर्वी नेपालको इलाममा जन्मिएका प्रेम आचार्य सुन्दर भविष्यको परिकल्पना गरी संघर्ष गर्दै गरेका एक आमयुवा थिए। उनले आफ्नो परिवारको जीवनयापनको लागि नोकरी, वैदेशिक रोजगारी, व्यापार व्यवसाय गरे। उनले आफ्नो भविष्यको लागि निकै दुःख र संघर्ष गरे, तर पनि सफल हुन सकेनन्। उनलाई अगाडि बढ्न देशको आर्थिक अवस्था, यहाँको कार्य प्रणाली, नियम कानुन, समय परिस्थितिले साथ दिएन।
उनले अगाडि बढ्ने कुनै अवस्था नदेखेपछि आत्मदाहको बाटो रोजे। उनलाई पक्कै पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो झोस्न र ३६ वर्षको उमेरमै मृत्युको बाटो रोज्न मन थिएन होला। एउटा सानो आगोको झिल्कोले त हामीलाई कति पीडा हुन्छ भने उनलाई त्यो पीडा सहन कति गाह्रो भयो होला, सम्झिंदा पनि आङ जिरिङ्ग हुन्छ।
उनी एक्लै पनि थिएनन्। उनको श्रीमती, सन्तान, परिवार सबैलाई छोडेर यसरी मृत्युवरण गर्न पक्कै मन थिएन। त्यसैले यो घटना एक जना व्यक्तिको रहर र लहडको विषय नभएर नेपाली युवाले भोगिरहेको पीडा, झेलिरहेको समस्या, व्यथा र वर्तमानमा युवाको अवस्था झल्किरहेको छ। प्रेम आचार्यको आत्मदाहमा उनको शरीर मात्रै होइन, उनीसँगै लाखौं युवाको सपना पनि जलिरहेको छ।
युवाको अवस्था
नेपाल सरकार राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष बीचको उमेर समूहलाई युवा परिभाषित गरेको छ। यो कुल जनसंख्याको ४०.३ प्रतिशत हो। हरेक वर्ष ५ लाख ५० हजारभन्दा बढी युवाहरू रोजगार बजारमा प्रवेश गर्छन्। तिनीहरूमध्ये ९१ प्रतिशत विदेशमा, विशेषगरी मलेसिया, खाडी र अन्य देशमा ५ लाखभन्दा बढी युवाहरू रोजगारीको लागि आफ्नो घर छोडेर विदेशिनुपर्ने अवस्था छ।
नेपालमा बेरोजगारी अवस्थाको बारेमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्रले ८ लाख ४१ हजार ४७३ जना बेरोजगार रहेको तथ्यांक संकलन गरेको छ । यसमा वैदेशिक रोजगारबाट फर्किएकाहरू समेत छन् , यो कहालीलाग्दो अवस्था छ।
देशको कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत भन्दा बढी तिनै युवाहरूले पठाएको रेमिट्यान्सबाट आउँछ र अनौपचारिक अर्थतन्त्रमा यो योगदान उल्लेख्य रूपमा बढी छ। तर दुर्भाग्य नेपाली युवालाई सरकारले गर्ने ‘रेस्पोन्स’ अत्यन्त कमजोर छ। सबैभन्दा दुःखदायी पक्ष भनेको २५ प्रतिशत भन्दा बढी नेपाली देश बाहिर छन्। युवा विकासमा नेपाल विश्वमा धेरै नै पछाडि अर्थात् १४५औं स्थानमा छ। दक्षिण एशियाली राष्ट्रहरूसँग तुलना गर्दा पनि नेपाल युवा विकास सूचकाङ्कमा कमजोर देखिएको छ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार १९.२ प्रतिशत युवा पूर्ण बेरोजगार रहेका छन् भने २८.३ प्रतिशत अर्ध-बेरोजगार छन्।
नेपालको लगभग ३६ प्रतिशत युवा श्रमशक्ति बेरोजगार छन् र आर्थिक उत्पादन वा दक्ष श्रममा संलग्न छैनन्। यसैगरी युवाहरूको लागि अर्को साह्रै नै पीडादायी खबर के छ भने वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार विगत ११ वर्षमा वैदेशिक रोजगारीमा गएर काम गर्ने क्रममा ७ हजार ४६७ नेपालीको मृत्यु भएको छ। कोही नेपालमा बेरोजगार बसेर जीवन कटाउन मुस्किल छ भने कोही कुलतमा फस्नुपर्ने अवस्था छ। कोही परिवार र सन्तानको खुशीको लागि खाडीमा पसिना चुहाउनुपर्ने बाध्यतामा छन् भने कोही लास बनेर बाकसमा फर्किनुपर्ने पीडादायी अवस्था विद्यमान छ।
यति मात्रै होइन, आज देशको अवस्था नै दयनीय छ। एउटा युवा पासपोर्ट बनाउन जाँदा रातभरि जाग्राम बस्नुपर्छ। सवारी लाइसेन्स बनाउँदा दुःख र सास्ती उस्तै छ। सरकारलाई राजस्व बुझाउँदा पनि उल्टो झन्झट व्यहोर्नुपर्छ। न्याय खोज्दा घुस खुवाउनुपर्छ। व्यवसाय गर्दा अनेक समस्या झेल्नुपर्छ। बैंकमा कर्जा खोज्दा चर्को ब्याजको भारीले थिचिनुपर्छ। विदेश जाउँ भन्दा पनि कोरिया लैजाने भनेर विराटनगर पुर्याउँछन्। कुनै उद्योग दर्ता गरी नयाँ कामको सुरुवात गरौं भन्दा कानुनी झन्झट, बिचौलिया र कमिसनखोरीको जालमा पर्नुपर्छ। यस्तो परिस्थितिले न युवाको भविष्य बन्छ, न देश समृद्ध बन्छ, न युवाको पलायन रोकिन्छ न आत्मदाह जस्तो घटना अब नदोहिरिने वातावरण बन्छ। यी समस्याहरूले युवालाई निरुत्साहित, हतोत्साही, नैराश्य र कमजोर मानसिकतामा पुर्याउँछ।
आज हरेक नयाँ पुस्ताले नेपालमा बसेर भविष्य खोज्ने भन्दा प्लस टु पास गर्ने बित्तिकै विदेश हिंड्ने सपना बुन्छन्। हिजो स्कुलमा पढ्ने विद्यार्थीले डाक्टर, इन्जिनियर बन्ने उद्देश्य राख्थे तर आज स्कुलमा पढ्ने विद्यार्थीको उद्देश्य नै ठूलो भएपछि विदेश जाने बन्न थालेको छ। एउटा देशको लागि यो भन्दा विडम्बना के हुन सक्छ ? भोलिको पुस्तालाई आफ्नो मातृभूमि छिटो छोडेर हिंड्न पाए हुन्थ्यो भन्ने भावना जाग्नु र देशका नागरिकलाई आफ्नै देशमा बसौं भन्ने लायकको समेत देश बन्न सकेको छैन। यो विषम परिस्थितिले देशको भविष्य कहाँ पुग्ला ? युवाको भविष्य कहाँ पुग्ला?
अबको बाटो
यो घटनाबाट पाठ सिकेर सरकारले समयमै देशको आर्थिक अवस्था सुधारका लागि विशेष कार्यक्रम लागू गरेर सम्पूर्ण युवाहरूलाई मुलुकमै अवसर, रोजगारी र सुन्दर भविष्य सुनिश्चित गर्नुपर्दछ। युवाहरूलाई सकभर आफ्नै देशमा रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ। नयाँ उद्योगहरू खोलेर या आधुनिक कृषि क्रान्तिमा अभियानात्मक रूपमा जोडेर पनि विकास निर्माणमा युवालाई सहभागी गराउन सकिन्छ। युवालाई नयाँ व्यवसायको लागि सहुलियतमा विना झन्झट बैंकबाट व्यावसायिक कर्जा उपलब्ध गराएर प्रोत्साहित गर्नुपर्छ।
विदेशमा रहेका युवाहरूको लागि पनि सम्बन्धित देशको सरकारसँग समन्वय गरेर युवाहरूको हित, अधिकार, रेखदेख र समस्यामा सहजीकरण गर्नको लागि प्रभावकारी संयन्त्र बनाएर काम गर्नुपर्छ। सरकारले जनजीविकाका सवालमा ढिलासुस्ती नगरी आफ्ना गतिविधिमा सुधार गरेर सुशासनको छनक दिन ढिला गर्नुहुन्न। सत्ता र कुर्सीको वरिपरि घुमिराख्ने भन्दा पनि जनताको लागि चुस्तदुरुस्त काम गरेर युवालाई आशा जगाउन सक्नुपर्छ।
सम्पूर्ण युवा वर्ग समस्याबाट भाग्ने, आपतमा आत्तिने र जीवनका चुनौतीबाट डराउने होइन कि अप्ठ्यारोमा पनि अवसर खोज्नुपर्छ। कालो बादलभित्र पनि चाँदीका घेरा देखे झैं आधुनिक युगका युवाहरूले आशा, भरोसा, विश्वास, नयाँ सोचसहित केही गर्ने हुटहुटी र संसार बदल्ने सपना देख्नुपर्छ। कुनै पनि रूपमा आत्मदाह आजको समस्याको समाधान होइन।
लेखक नेपाली कांग्रेसका युवा नेता हुन् ।
प्रतिक्रिया 4