
१९ माघ, जनकपुरधाम । मुस्लिम आयोगले मधेशी मुस्लिमलाई मधेशीकै रुपमा सिफारिस गरिदिन मधेशी आयोगलाई आग्रह गरेको छ । मुस्लिम आयोगले मधेशी आयोगलाई एक पत्र पठाउदै लोकसेवा आयोग लगायत अन्य निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई मधेशीकव सिफारिस दिन आग्रह गरेको हो ।
मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूचीबाट हटाएपछि मुस्लिमहरुले मधेशीको सिफारिस पाउन अवरोध देखिएको छ । मधेशी आयोग द्वारा प्रकाशित ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जातसहित थारु र मुस्लिमलाई पनि मधेशीको रुपमा सुचिकृत गरिएको थियो ।
प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारी सहित सो समुदायका विभिन्न संघ-संगठनहरुले मधेशी आयोगको सो निर्णयप्रति विरोध जनाएका थिए । त्यसपछि आयोगले मङ्सिर २० गते थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो ।
मधेशीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवा लगायत विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई समस्या देखिएको छ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडि बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित आयोगका पदाधिकारीबाट व्यापक विरोध भएपछि आयोग बाध्य भएर हटाएको बताए ।
प्रतिक्रिया 4