
१९ माघ, विराटनगर । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आत्महत्याको चर्चा धेरै नगर्न उद्योगी व्यावसायीलाई आग्रह गरेका छन् । बिहीबार विराटनगरमा सीएनआई कोसी एक्स्पो २०७९ उद्घाटन गर्दै उनले आत्महत्याको चर्चा धेरै नगर्न आग्रह गरेका हुन् ।
उनले भने,‘…यो सोच्न मिल्ने कुरा हो ? यस्तो हुतिहारा हुनुपर्छ हामी ?’ ओलीले निरन्तर आफ्नो काममा मेहनत गर्न आग्रह गरे । ‘मैले आत्महत्याका बारेमा कहिले सोचिन, लड्ने बारेमा मात्रै सोचे’, उनले भने,‘…बाँचुन्जेलसम्म हिम्मत हार्न हुँदैन, जिउँदो मान्छे जस्तो हुनपर्यो नि ।’
व्यावसायमा घाटा हुँदैमा आत्तिन नहुने उनको भनाइ छ । ‘हाम्रा ऋषिमुनिहरुले कति समय केही नखाई बस्थे, अलिकति प्रतिकुल समय आउनेबित्तिकै आत्महत्या गर्ने व्यावसायीले ?लतै छाड्ने ? धरती नै छाड्ने ?,’ उनले भने, ‘कहिले कहिले घाटा पर्छ, कहिले कहिले नोक्सान पर्छ, कहिले दुर्दिन आउँछन्, सूर्य जस्तो प्रतापीलाई त ग्रहण लाग्छ भने हाम्रो उद्योगलाई कहिले काही लाग्छ ।’
नयाँ सरकारले उद्योगी व्यावसायीको समस्यालाई सम्बोधन गर्ने उनले बताए ।
आर्थिक क्षेत्रमा सुधारको संकेत देखिएको बताउँदै ओलीले भने, ‘पुस १० अघिको अवस्था आर्थिक हिसाबले निराशाको अवस्था थियो । त्यही हिसाबमा जादा देश बर्बादको अवस्थामा जाने थियो, यो सवा महिनामा केही सकारात्मक कदम चाल्ने र अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ ल्याउन ठोस कदम चालिएको छ ।’
उद्योग मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको समस्या समाधान गर्नका लागि सरकार लागि परेको बताए । अहिलको अवस्था चाडै सामधान हुने उनको भनाइ छ ।
एक्स्पो १० दिनसम्म सञ्चालन हुनेछ । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको एक्स्पोमा ३७० भन्दा बढी स्टलहरु छन् ।
प्रतिक्रिया 4