+
+

कैलाली कारागारमा ३० प्रहरीको जिम्मेवारी खोसियो, जेलर पनि फेरिदै

जनक विष्ट जनक विष्ट
२०७९ माघ १९ गते १८:२२

१९ माघ, धनगढी । कैलाली कारागारमा लागुऔषधको कारोबार गरेको गुनासोपछि प्रमुखसहितका ३० जना प्रहरीको जिम्मेवारी खोसिएको छ । जेलरको पनि सरुवा प्रक्रिया अघि बढेको छ ।

जिल्ला प्रशासन कार्यालयकाअनुसार कारागारभित्र लागुऔषधको कारोबार हुने गरेको गुनासो बढेपछि प्रहरीतर्फका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक बासुदेव अवस्थीसहितका प्रहरीलाई फिर्ता बोलाइएको हो । उनीहरुको ठाउँमा बिहीबार नयाँ प्रहरी कर्मचारी पठाइएको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले कारागारको सुरक्षार्थ खटिएको प्रहरी कर्मचारीको जिम्मेवारी खोसेर नयाँ पठाइएको जानकारी दिए । उनका अनुसार जेलर नरबहादुर थापाको जिम्मेवारी खोसेर अर्को व्यक्तिलाई पठाउने प्रक्रिया समेत प्रशासनले अघि बढाएको छ ।

‘कारागारको प्रशासन प्रमुख (जेलर) र सुरक्षाकर्मीको विषयमा लागुऔषध कारोबार जस्ता विषयमा प्रश्न उठेपछि जिम्मेवारी हेरफेर गरिएको हो,’ सप्रजिअ जोशीले अनलाइनखबरसँग भने, ‘प्रहरीतर्फको प्रमुख फेरिएका छन् । जेलरलाई पनि परिवर्तन गर्ने प्रक्रिया अघि बढेको छ । भोलिसम्म मन्त्रालयले अर्को व्यक्ति पठाउँछ होला ।’ जोशीका अनुसार जेलर थापाको ठाउँमा अर्को व्यक्ति पठाउन प्रशासनले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भने नियमित प्रक्रिया अन्तर्गत सुरक्षाकर्मी फिर्ता बोलाइएको बताए । प्रहरीतर्फका प्रमुख अवस्थीसहितका सुरक्षार्थ खटिएका ३० जना प्रहरीलाई फिर्ता बोलाउदै उनीहरुका ठाउँमा नयाँ पठाइएको उनको भनाइ छ ।

प्रहरी वरिष्ठ नायब निरीक्षक चरन बुढाथापालाई कारागारको सुरक्षा प्रमुखका रुपमा खटाइएको डीएसपी जोशीले जानकारी दिए । गत कात्तिकमा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवलदार अपिल भाटलाई पक्राउ गरेको थियो । भाट अहिले पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय लागुऔषध कारोबार र सेवन सम्बन्धीको प्रकरण पूरानै भएको बताउदै अहिले नियमित कार्यतालिकाअनुसार सुरक्षाकर्मी हेरफेर गरेको दाबी गरेको छ । तर स्थानीय प्रशासनले भने कारागारमा जेलरकै संलग्नतामा लागुऔषधको कारोबार हुने गरेको गुनासोपछि कारागारालाई व्यवस्थित बनाउन जिम्मेवारी हेरफेर गर्नुपरेको जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?