
१९ माघ, वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाका मेसिनहरु काम लाग्ने देखिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो राख्दै उनले कारखानाका मेसिनहरु चलेको बताएका हुन् ।
कारखानाको मेसिन मर्मत गरेपछि काम गर्न थालेको भिडियो सार्वजनिक गर्दै लेखेका छन् ।
‘३० बर्षसम्म बल्दै नबलेको तेलबाट चल्ने फलाम तताउने भट्टीहरु बल्यो र फलामलाई रातो हुने गरी ततायो । अनि तातो फलामलाई पिट्ने पावर ह्यामर पनि चल्यो र त्यसले फलामको रडलाई ठोक्यो ।’
फलामको पाता काट्ने र थिच्ने दुईवटा डाई प्रेस मेसिनको सहायताले बेल्चा पनि तयार गरेको उनले बताए । मिलिंग मेसिन, रड काट्ने मेसिनसहित अरु केही मेसिन औजारहरु पनि बनिरहेको उनको भनाइ छ ।
केन्द्रले कृषि औजार कारखानामा दोस्रो चरणमा मेसिन मर्मतको काम गरिरहेको छ । पहिलो चरणमा कारखाना परिसर सरसफाइ गर्नुको साथै मेसिनको स्थिति बुझेको थियो । कृषि औजार कारखानाका ५४ वटा मध्ये ४३ वटा मेसिन चल्ने अवस्थामा रहेको जनाइएको थियो ।
यसपटक चल्ने या नचल्ने मेसिन परीक्षण गर्नुको साथै झाडी फाँडेर खेती गर्नेसम्मको योजना रहेको उनले सुनाए । चल्ने मेसिनको प्रयोग गरेर नमुना औजार बनाएर देखाउने अठोट उनको छ ।
प्रतिक्रिया 4