
काठमाडौं । प्रभावशाली इरानी फिल्म निर्देशकमध्येका एक जाफर पनाहीले नजरबन्दको विरोधमा राजधानी तेहरानस्थित इभिन जेलमा भोक हड्ताल थालेका छन् ।
पनाहीकी पत्नी ताहेरेह सईदीलाई उध्दृत गर्दै मानवअधिकार कार्यकर्ता समाचार एजेन्सीले जनाएअनुसार ‘द ह्वाइट बलुन’, ‘द सर्कल’ र ‘नो बियर्स’जस्ता फिल्म निर्देशन गरेका कान्स फेस्टिभल अवार्ड विजेता पनाहीले आफूलाई रिहा गर्न अस्वीकार गरिएपछि हड्ताल थालेको जनाइएको छ ।
पनाहीलाई ११ जुलाई २०२२ मा इभिन जेलको अगाडि पक्राउ गरिएको थियो । एजेन्सीका अनुसार उनले २०११ मा तेहरान अदालतले जारी गरेको ६ वर्षको जेल सजाय भोग्नुपर्ने जनाइएको छ । उनीमाथि सन् २००९ को चुनावपछिको उथलपुथलका बेला सरकार विरोधी प्रचार र विरोधलाई उक्साएको आरोप लगाइएको थियो ।
न्युयोर्कमा रहेको मानवअधिकार संगठन (एएफआई)ले पनाहीको सजाय एक दशकअघि सुनाएको हुनाले इरानी कानुनअन्तर्गत सीमाको म्याद सकिएको बताएको छ । तर इरानी न्यायपालिकाले उनको मुद्दा पुनरावलोकन गर्न वा जमानतमा रिहा गर्न अस्वीकार गरेको एएफआईले जनाएको छ ।
एएफआईको वेबसाइटमा प्रकाशित खुला पत्रमा पनाहीले लेखेका छन्, ‘कानुनअनुसार पुनः सुनुवाइको लागि मेरो अनुरोध स्वीकार गरिसकेपछि र मेरो कानुनी मुद्दा पुनरावलोकनका लागि अदालतको शाखामा पुगेपछि मलाई तुरुन्तै धरौटीमा रिहा गरिनुपथ्र्यो । आफ्नो खुला पत्रमा, उनले सेप्टेम्बर २०२२ मा २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएदेखि देशलाई चकित पार्ने विरोध प्रदर्शन र त्यसयता भएको गिरफ्तारी र मृत्युदण्डको तथ्यलाई पनि उल्लेख गरेका छन् ।
‘हाम्रो देशका निर्दोष युवाहरूलाई ३० दिनभित्र मृत्युदण्ड दिइएको हामीले देखेका बेला गुप्तचर निकायको हस्तक्षेपले मेरो मुद्दा अदालतमा पुर्याउन १०० दिनभन्दा बढी समय लाग्यो,’ पनाहीले भने । पनाही विगत केही हप्तादेखि जेलमा फ्लु र अन्य रोगबाट पीडित थिए । ‘उनी इरानी अधिकारीद्वारा लगातार उत्पीडनमा परेका थिए र जेलमा आधारभूत अधिकारबाट वञ्चित थिए,’ उनी निकट स्रोतले एएफआईसँग भने ।
पनाहीलाई रिहा गर्न नेपाली निर्देशकको माग
यसैबीच, दीपक रौनियारलगायत केही नेपाली फिल्म निर्देशकले तत्काल पनाहीलाई रिहा गर्न माग गरेका छन् । सामाजिक सञ्जालबाट उनीहरुले ‘फ्रि जाफर पनाही’ ह्यासट्याग प्रयोग गर्दै उनको रिहाइको माग राखेका हुन् । पनाहीलाई यसअघि गिरफ्तार गर्दा पनि काठमाडौंमा फिल्ममेकरले प्रदर्शन गरेका थिए । फिल्म निर्देशक केपी पाठकले पनि पनाहीलाई थुन्नु अभिव्यक्ति स्वतन्त्रता विपरीत भएकाले उनलाई तत्काल रिहाइ गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया 4