
२० माघ, काठमाडौं । अपहरणपछि हत्या गरिएकी भनिएकी बाँकेकी निर्मला कुर्मीका लागि न्याय माग्दै ३७ दिनदेखि धर्ना दिइरहेका महिलाहरुमाथि आन्दोलन छाड्न दबाब दिईदैछ ।
न्याय माग्दै राजधानी काठमाडौंमा ३७ दिनदेखि धर्ना बसिरहेका महिलाको बाँकेमा रहेका परिवारलाई धम्क्याउँदै आन्दोलन छाड्न दबाब दिईदैंछ ।
निर्मलाका लागि न्याय माग्दै माईतिघरमा धर्ना बसिरहेकी मनकुमारी गुर्तालका श्रीमान कलिम तेली बाँकेको जानकी गाउँपालिकाम सवारी चालकको काम गर्छन् । मनकुमारीले आन्दोलन नछाडे उनका श्रीमानलाई जागिरबाट निकाल्ने धम्की आएको छ ।
निर्मलाको अपहरण र हत्याका मुख्य आरोपित बादशाह कुर्मिले गाउँपालिकासंग मिलेर आन्दोलन छाड्न दबाब दिईरहेको गुर्तालले सुनाईन् । गुर्ताल ति महिला हुन जसले निर्मलाको अपहरण र हत्याको घटनामा बादशाह विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी नै दिएकी छन् ।
‘तेरो श्रीमतीलाई आन्दोलन छाड्न लगा, होइन भने तलाई जागिरबाट निकाल्छौ भनेर भनेका छन्,’ गुर्तालले भनिन् ।
बाँकेको नेपालगञ्ज उपमहागरपालिका १७ कि निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो । त्यसपछि आफ्ना दुई छोरासंग बसिरहेकी कुर्मीको ०६६ मंसिरमा १० दिनको अन्तरालमा निर्मलाका दुई छोराको रहस्यमय ढंगले मृत्यु भएको थियो ।
त्यसपछि निर्मलाका श्रीमान र छोराको नाममा रहेको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएका थिए । त्यसपछि बेपत्ता भएकी कुर्मिको हत्या भयो ।
नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य समेत रहिसकेका बादशाह विरुद्ध कुर्मीलाई बेपत्ता बनाएर मारेको भन्दै उजुरी छ । बाँके क्षेत्र नम्बर ३ ‘२’ बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित बादशाहमाथि अनुसन्धान गर्नु भन्दै गृहमन्त्रालयले ०७८ कार्तिकमा निर्देशन दिएको थियो ।
तिनै बादशाह यतिखेर माईघिरमा धर्ना दिईरहेका महिलाको परिवारलाई भेटेर आन्दोलन छाड्न धम्कि दिइरहेका छन् । जानकी गाउँपाकालिका मेयर, उपमेयर दुवैजना कांग्रेसबाट निर्वाचित हुन् । तर, गाउँपालिका प्रमुख छब्बन खाँ भने आफूहरुले कुनै दबाब नदिएको बताउँछन् ।
उनी भन्छन्, ‘हामीले त्यस्तो दबाब दिएका छैनौं । उसको(कलिम) हातमा समस्या छ, बसेर छलफल गरौं भनेका हौं । आन्दोलन छाड्, जागिरबाट निकाल्छौ भनेका छैनौं ।’
प्रतिक्रिया 4