+
+

कालीगण्डकीको शिला अयोध्यामा हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १९:१५

२० माघ, अयोध्या । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ ।

बिहिबार अयोध्यामा आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चंपत रायलाई शिला हस्तान्तरण गरेका छन् ।

हिन्दू परम्परा अनुसार पूजापाठ गरी मन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माण स्थल रामसेवकपुरम्मा उक्त शिला हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा सयौं साधुहरु पनि उपस्थित थिए । उनीहरुले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका थिए ।

कार्यक्रममा कांग्रेस नेता निधिले राम जन्मभूमिमै आएर शिला हस्तान्तरण गर्न पाउनु आफ्नो सौभाग्य भएको भन्दै यो कामलाई सफल बनाउने भारतीय पक्षका सबै अधिकारीलाई नेपालको तर्फबाट आभार व्यक्त गरे ।

राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पुण्य काम भएको भन्दै यसबाट दुवै देशले लाभ उठाउने बताए ।

दुईवटा शिलामध्ये एउटा १८ टनको छ भने अर्को १६ टनको छ । १६ टनको शिलामुनि चतुर्भुज शालिग्राम भेटिएको थियो ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिला जनकपुरधाम हुँदै अयोध्यातर्फ लगिएको थियो । बिहीबार हस्तान्तरण गरिएको शिलाबाट राममन्दिरको गर्भभागमा राखिने रामको बालस्वरुप बनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?