
सुगम पोखरेलले गएको गीतमा जस्तो “हाम्रो स्कुल पाठशाला” ऐश्वर्य विद्या निकेतन उमावि, कैलालीको एक छात्र म थिएँ । स्कुले विद्यार्थी हुँदा उस्तो साहित्यिक पुस्तक पढेको याद छैन । प्रत्येक घरमा मुनामदन हुने गर्थ्यो । मेरो घरमा पनि मुनामदन देख्न सकिन्थ्यो । एक जुनी लगाएर पनि पढ्न नसकिने किताब संसारमा अस्तित्वमा छन् भन्ने कहिल्यै दिमागमा थिएन ।
दश जोड दुई अध्ययन सकेर काठमाडौँ आइयो । पुल्चोकमा इन्जिनियरिङ अध्ययन थाले तापनि सम्बन्धित विषयमा मन लागेको थिएन । कविता रचना गर्न थालियो, रचना गर्न थालेको छ महिनामै राष्ट्रिय प्रतियगितामा “शुभलाभ” भयो, दोश्रो पुरस्कार हात पारेँ, लेख्नलाई झनै ऊर्जा मिल्यो । तर मेरो पठनयात्रा सुरु भएकै थिएन ।
फेसबुकमै हो, ‘दोषी चस्मा’ अन्तोन चेखभको कथाको चोरी हो भन्ने डिस्कोर्समा आँखा परेको थियो । दुईवटै साथै राखेर अध्ययन गर्ने जमर्को गरिनँ; एउटा अठोट भने गरेँ ।
पठनयात्राकालमा आएपछि अध्ययन गरेको ओसामु दजाईको अर्धआत्मपरक आख्यान नो लङ्गर ह्युमनका अङ्ग्रेजी अनुवादक डोनाल्ड कीनी अनुवादकको टिप्पणीमा के सुझाउँछन् भने जापानीहरूले आफ्नो मौलिक संस्कृतिमा पश्चिमा संस्कृतिलाई चरम घुसपैठ गर्न दिनाले जापानी साहित्यमा मौलिकता हराउने भय छ, जापानी साहित्यिक कृतिका नाउँमा पश्चिमा अनुकृतिहरूले जापानमा वर्चस्व जमाउने खतरा छ । विशेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’मा रसियाली ‘कारिन्दाको मृत्यु’ले वर्चस्व जमाएको रहेछ ।
पठनयात्राकालपूर्व लाग्थ्यो, केही नपढेपछि जेजे लेखिन्छ, आफ्नै मनको हुन्छ । न कसैको प्रभाव, न चोरीको आरोप ।
केही समय कविता लेख्दै गइयो । कवितामा निथ्रुक्क भइयो । आफूले लेखेको-खेलेको कस्तो हो भन्ने थाहा पाउन अरूको नपढी नहुनेरहेछ भन्ने सोच पलायो । इन्टरनेटमा भेटिएअनुसार अध्ययन गर्न थालेँ । सन्दर्भमूलक लेखन अबको लेखन हुनुपर्छ जस्तो महसुस भयो । प्लेखानोवले के बताएका छन् भने, कामभन्दा पहिले खेल होइन खेलभन्दा पहिले काम भयो । आफ्नो खेल-लेख कस्तो हो भन्ने थाहा पाउन अरूका काम अध्ययन नगरी हुन्न भन्ने चेतको विकास भयो । आफ्नो रचना राम्रो बनाउन थुप्रै मस्यौदामा, खेस्राखेस्रामा केस्राकेस्रा केलाएर काम गर्नुपर्ने रहेछ । विकिपीडिया, कविताकोश, अलपोएट्री, पोएट्रीफाउन्डेसनलगायत थुप्रै वेबसाइट मार्फत अनौपचारिक अध्ययन सुरु गरेँ ।
हरिभक्त कटुवालको एउटा कविता पढिरहेको थिए, ‘म कवि’ । ठ्याक्कै आफूले लेखेको कविताजस्तै हुबहु लाग्यो ।
हरिभक्त कटुवाल :
आफैँलाई खोजिरहनुको उत्सुकताको पछि
गुमाउँदै जानुको चिसो विवशताले पीडित मेरो मुटु
खै, आज कविता सोच्नै मान्दैन,
सायद त्यसैले होला सुनगाभा !
तिम्रो मुस्कानभन्दा मेरा आँखामा यसबेला
ती वृद्ध सज्जनको मलिन अनुहार खेलिरहेछ
जो घण्टौँ एउटा लामो क्यूमा उभिएर पनि हिजो साँझ
मट्टितेलको रित्तो भाँडो हल्लाउँदै घर फर्किरहेका थिए,
जाती हुन्थ्यो बरु म कवि नभएर
त्यही रित्तो भाँडोभरि मट्टितेल हुन सकेको भए,
मेरो देशको एउटा घरमा एक रात एक छाक बल्न सक्थेँ
एउटा वृद्धको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थेँ
तर सुनगाभा !
मेरो देशको कुनै समस्या पनि टार्न नसक्ने म कवि भएँ
— जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्रयो ।
म :
टेबलमा थुप्रै पुरस्कार छन्,
र मनमा उकुस–मुकुस !
यो सबैभन्दा ठूलो ट्रफी –
सबैभन्दा भोकाएको भोकको प्रतीक हो !
जसको थालको म खाना बन्नसकेको भए,
वा उसको भोकलाई मैले रोमान्टिसाइज नगरेको भए
यो ट्रफी आज मेरो टेबुलमा हुनेथिएन !
वृद्धको देहान्तको खबर त्यसदिन समाचारमा हुनेथिएन,
र मेरो मनमा अहिले उकुस–मुकुस हुनेथिएन ।
कविताको सार हुबहु मिलेको देखेपछि खिन्न भएँ । कसरी कसैले मेरो भावनामा पहिले नै खेलिसकेका रहेछन्, लेखिसकेका रहेछन् ! कविताको सार कसरी मिल्नसक्छ, कसैले कसैको सारेको कसरी मिल्छ ? हामी कसरी चोरिन थाल्छौँ, हामी कसरी चोर्न थाल्छौँ ?
इटालो कल्विनो ‘द ब्ल्याक शीप’ नामक कथामा भन्छन्, एकादेशमा सबकासब चोर थिए । ‘द ब्ल्याक शीप’मा व्यवस्थाले सबैलाई चोर बन्न बाध्य बनाएको छ, चोर्नुको विकल्प छैन । कथाको अनुसार ‘कागेभेडा’ त्यो हो जो चोर्दैन, चोर्न मान्दैन । सबै मानिस व्यवस्थाप्रति इमानदार छन्, कागेभेडा भने इमानदार छैन । कल्विनो पढिसकेपछि मलाई लाग्यो, जब हामी इमानदार हुन्छौँ, ‘कपी गर्ने कला’ त्यहाँबाट सुरु हुन्छ । ‘महेन्द्रीय राष्ट्रवाद’ कपी गर्दै ‘राष्ट्रकवि’ माधव घिमिरे गाउँछन्, हामीले हिमाल उठायौँ एसियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यहीँ साझँमा । एसियाको माझमा के हिमाल हामीले उठाएको हो ? सत्यता र सत्तानिष्ठ इमानदारितामा कति अन्तर छ ? सत्यताको नजीक भएका सिर्जनाहरू सत्तानिष्ठ इमानदारितामा रचिएका सिर्जनाहरूका लागि वैरी ठहर्छन् । सिर्जनाको मौलिकता सत्यताको नजीक भएर गुज्रन्छ । नेपाल ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त’ राष्ट्र हो भने लालीगुराँस मात्रै ‘सुन्दर’ राष्ट्रिय फूल कसरी हुनसक्छ ? जब सत्ताको पाठ पढाइन्छ, हामीलाई कपी गर्न सिकाइन्छ । ‘गाजलु ती ठूलाठूला आँखा’ मात्रै सुन्दर लाग्छन्, चिम्सा आँखाहरू सुन्दर हुदैनन् ? ‘म त लालीगुराँस भएछु’ नगाउँदा ‘तराई’का वनैभरि, मनैभरि नेपाल हुदैन ? जब तराईलाई पहाडप्रति इमानदार हुन सिकाइन्छ, तब तराई कसरी मौलिक हुन्छ, कसरी सिर्जनशील हुन्छ, कसरी कागेभेडा हुन्छ ? हिमालको देशगान गाए तराई देशभक्त हुने, नगाए देशद्रोही हुने भन्ने हुन्छ ? सत्ताले सिर्जना गरेको अन्तहीन अस्तव्यस्तता हरिभक्त कटुवाल र मेरो लागि एउटै भइदियो र मैले जानीनजानी कटुवाललाई कपी गर्न पुगेँ । दुनियाँ नबदल्दासम्म दुनियाँमा चोरहरू रहिरहन्छन्, जबसम्म हाम्रो दिमागमा दुनियाँ बदल्ने कुरा वा व्यवस्था परिवर्तन गर्ने कुरा हुदैन, तबसम्म मौलिक सिर्जनाको सुरुवात हुनैसक्दैन ।
यदि भूगोल फरक हुन्छ भने भूगोलमा निर्मित संस्कृति फरक हुन्छ, संस्कृतिमा आधारित सौन्दर्यशास्त्र अलगअलग हुन्छ । खसी संस्कृतिको खसक्षेत्रीको सौन्दर्यशास्त्र बुङ्गुर खाने जनजाति संस्कृतिको सौन्दर्यशास्त्रभन्दा फरक हुन्छ । ‘गुलाबी गाला’मा सुन्दरता देख्नेले कसरी अर्जुन खालिङको ‘सोल्टिनी ! बुङ्गुरको फिलाजस्तो पुष्ट तिम्रो गाला, त्यै गाला हेर्दाहेर्दै ज्यानै मेरो जाला’मा सुन्दरता देख्ला ? अर्जुन खालिङ ‘बोका संस्कृति’को भेडा भएका छैनन्, ‘कागेभेडा’ भएका छन् :
हौ सोल्टिनी !
बुङ्गुरको फिलाजस्तो
पुष्ट तिम्रो गाला,
हात्तीको हिँडाइजस्तो
मस्त तिम्रो चाला,
लाली–पाउडर चाहिदैन
त्यसै रातो–तातो,
रातो–तातो गाला हेर्दै
गयो मेरो सातो,
हौ सोल्टिनी !
बुङ्गुरको फिलाजस्तो
पुष्ट तिम्रो गाला,
त्यै गाला हेर्दाहेर्दै
ज्यानै मेरो जाला ।
सोल्टिनी ज्यू ! जबसम्म हामी भेडा हुन्छौँ, कागेभेडा हुँदैनौँ, हाम्रो मौलिक पहिचान सम्भव हुँदैन, हामी सिर्जनशील हुनै सक्दैनौँ ।
विशेश्वरप्रसाद कोइरालाले ‘दोषी चस्मा’ लगाएर चेखभको ‘कारिन्दाको मृत्यु’मा ज्यानै फालेको भन्नु मिल्दैन ? कोइराला कति मौलिक, कति अलौकिक बहस आफ्नो ठाउँमा छ, बहस नो लङ्गर ह्युमन अथवा बुङ्गुरको फिलाजस्तो सोल्टिनीको गालाबाट सुरु हुनसक्छ ।
तर के लेखिसकिएको छ र कसरी खेलिसकिएको छ भन्ने जान्न लेखक बन्न हिँडेकाहरूले पूर्ववर्ती लेखकहरूलाई अध्ययन गर्नैपर्ने रहेछ । अब म पनि अध्ययन गर्छु ।
स्टेफेन किङको अन राइटिङमा पढेको थिएँ :
यस्तो चाहिँ लेख्नहुन्न भनेर थाहा पाउन पनि कमसल पुस्तक पढ्नुपर्छ । कुनै पुस्तक पढेर यस्तो भने लेख्दिनँ भनेर थाहा पाउनु भनेको कुनै विख्यात लेखकको सिर्जनात्मक लेखनको अतिथि प्रवचन वा सिर्जनात्मक लेखनकै एक सेमेस्टरको कक्षा लिए बराबर हुन्छ ।
पहिलो चरणको लकडाउन सुरु हुनुभन्दा केहि अघि पाटनमा पुस्तकमाथि लागेको करको विरुद्दमा प्रदर्शन भइरहेको थियो । मैले पनि आफ्नो सहभागिता जनाएको थिए । किताबको महत्व धेरथोर बुझेको र यो कुरा मौलिक रूपमा पनि गलत हो भन्ने लागेको हुनाले म सहभागी हुनगएको थिएँ । त्यसै सिलसिलामा बुकाहोलिक्सकी सञ्चालक सगुना शाहसँग साक्षात्कार भयो ।
बुकाहोलिक्सले मार्टिन चौतारीमा विमन हु रन विथ द वुल्भ्स भन्ने पुस्तकमा चकटी बहस सञ्चालन गरेको थियो । म पनि सहभागी भएँ । एउटा पुस्तकको विविध कोणहरूबाट शल्यक्रिया भइरहेको थियो । मैले अध्ययन गर्नुको मजा र महत्व बुझेँ ।
दोश्रो चरणको लकडाउन सुरु हुनलाग्दा पढ्नलाई भनेर किताबहरू किन्न गएँ । यो लकडाउनमा किताबहरू पढ्छु भनेर अठोट नै गरेको थिएँ । रमेश क्षितिजको घर फर्किरहेको मानिस पढ्न सुरु गरेँ । ‘बाँकी कथा’ शीर्षक गरेको कविता पढ्दा कतै पढिसकेको जस्तो महसुस भयो । स्मरण भयो, उक्त कविताको चोरी गरिएको रूप त मैले नौ कक्षामा अध्ययनरत हुँदा वाचन गरेर पुरस्कार जितेको थिएँ । मेरा मामा कविता लेखिरहनुहुन्थ्यो, मामासँग ढिप्पी गरेर कविता लेखाइमागेँ । वहाँले ‘पहिले लेखिसकेको दिँदिनँ, नयाँ लेखिदिन्छु’ भन्नुभयो । वहाँले क्षितिजको ‘बाँकी कथा’ कपी गरेर वहाँको मौलिक कविता ‘संशोधन’ लेख्नुभयो । वहाँले रचेको कविता वाचन गरेर पुरस्कार पड्काइयो । रमेश क्षितिजज्यूलाई एउटा पुरस्कार पैँचो रहेको छ । कसैले रमेश क्षितिजको उक्त पुस्तक पढेको भए मेरो पुरस्कार के हुन्थ्यो होला भन्ने लाग्छ ।
रमेश क्षितिज :
त्यो अन्त्य होइन तिमीले सोचेजस्तो
अझै नयाँ पात्रहरु फेरि देखिनेछन् रङ्गमञ्चमा
…
जीवनको अर्काे नाम हो सम्भावना
फेरि हुनेछन् रहस्यमय घटनाहरू
…
जे पनि हुनसक्नेछ, जे पनि हुनसक्नेछ !!
…
आशा र सपनाहरुको झण्डा उठाउँदै
काँधमाथि बोकेर नयाँ बिहान
उभिनेछ हाम्रो सामु हेरिरहुँजस्तो कुनै क्रान्तिनायक
म भन्छु त्यो तिमी हौ !
मामाश्री :
यो अन्त्य होइन तिमीले सोचेजस्तो
अझै नयाँ सुरुवात हुँदैछ
…
जीवनको अर्को नाम हो नदी
र नदीको अर्को नाम हो सम्भावना
फेरि हुनेछन् रहस्यमय घटनाहरू
फेरि दोहरिनेछ जनक्रान्ति
…
जे पनि हुनसक्नेछ प्रिय !
…
आशा र सपनाहरुको झण्डा उठाउँदै
काँधमाथि बोकेर नयाँ बिहान
उभिनेछ हाम्रो सामु हेरिरहुँजस्तो कुनै क्रान्तिनायक
म भन्छु त्यो तिमी हौ !
सन् २०२१को सात महिनामा मैले पचास थान पुस्तक पढेँ । सन् २०२२ मा त्यसलाई दोब्बर गराएँ । यो पठनयात्रामा मैले अनुभूति गरेको छु, यदि मैले एक सय पुस्तक पढ्न नसकेर नब्बेमै अड्किएँ भनेपनि म आफूले आफ्नो एक सय पुस्तक अध्ययन गर्ने चुनौती जितेसरह नै म खुसी हुन्छु । मैले मिहिनेत नगर्ने होइन तर जीत गन्तव्यमा होइन, यात्रामा हुन्छ, प्रयत्नमा हुन्छ । जुन कुरा मैले अर्नेस्ट हेमिङ्ग्वेको दी ओल्ड म्यान एण्ड द सीमार्फत सिकेको छु ।
एक सय पचास थान पुस्तक पढिसक्दा निकै खुसी लागेको छ । असङ्ख्य पुस्तकहरूमध्ये मैले एक सय पचास थान पुस्तक अध्ययन गरेको छु भन्ने एउटा सानो खुशी मेरो लागि विशाल ऊर्जाको स्रोत हो । चलचित्र हेर्नुपूर्व त्यसको किताब पढ्ने बानी बसालेको छु । स्यामुएल बेकेटको वेटिङ फर गोदतमा आधारित नाटक हेरेको छु ।
पहिलो कुरा त के भने पुस्तक पढ्दा मगजमा स्वत: एक किसिमको चलचित्र निर्माण हुन्छ, पुस्तकका पृष्ठहरूले चलचित्रका दृश्यहरूजस्तो काम गर्छन् । जोन स्टाइनबेकको अफ माइस एण्ड मेन पढ्दा छेपारो सुकेको घाँसमा हिँडेको पदचाप कानमा गुञ्जन्छ । लेखकको कृतिलाई जस्ताको तस्तै अनुभूति गर्न मिल्ने कृतिमै हो; चलचित्रमा त्यसलाई बजारीकरण कसरी गर्नेमा विशेष ध्यान गएको हुन्छ ।
पुस्तक पढ्न अल्छी लाग्छ भन्नु पठनको लत लाग्नुअगाडिको हाम्रो मूलभूत मानसिकता हो भन्ने बुझ्न थाल्छु ।
म मान्छेहरूलाई त्यति सारो बुझ्दिन थिएँ । मानिसहरू ‘तँसंग बस्न मन छैन अहिले’ भन्नुको सट्टा ‘मेरो टाउको दुखेको छ, घर जान्छु’ पनि भन्दा रहेछन् । पुस्तकहरूले मलाई ‘टाउको दुखेर घर जान’ सिकाए ।
पुस्तकहरूले मलाई स्थापित सत्यउपर सवाल खडा गर्ने वा कम्तीमा त्यसमा सन्देह गर्न सक्ने तुल्याएको छ।
चिमामान्डा गोजी अदिचेको पुस्तकाकार निबन्ध वी शुड अल बी फेमिनिस्ट ।
अदिचेले नारीवाद भनेको महिला अधिकारको बारेमा मात्र होइन, तर सबै मानिसहरूका लागि थप न्यायपूर्ण र समान समाजनिर्माण गर्नुपर्ने तर्क गर्छिन् ।
मीना कन्दसामीको अर्धआत्मपरक आख्यान व्हेन आइ हिट युमा युनिभर्सिटी लेक्चरर, मार्क्सवादी र दक्षिण भारतमा एक समयको क्रान्तिकारीले कम्युनिस्ट विचारहरूलाई आफ्नो दुःखको आवरणको रूपमा प्रयोग गर्दछ । जब आख्यानको प्रमुख स्त्रीचरित्र लेक्चररसँग घरजम गरेर अपरिचित सहरमा भित्रिन्छिन्, उनको ‘तनमन’मा उसले हक जमाउन खोज्छ, उनी रुन्छिन्, ऊ भाष्य रच्छ । उनलाई उनको पतिले महिला उत्पीडनबारे कविता लेख्न रोक लगाउँछ तर आफू भने कविता लेख्छ :
व्हेन आइ हिट यु
कमरेड लेनिन वीप्स्
जब म तँलाई कुट्छु,
कमरेड लेनिन सुँकसुँकाउनुहुन्छ
फ्रान्ज काफ्काको द मेटामर्फोसिस (कायान्तरण) अध्ययन गरिसक्दा जीवनको काया र जगतको छायाउपर कसले सन्देह नगर्ला ? बाआमाको निस्वार्थ भनिने माया के त्यसदिन पनि टिक्नेछ, जुन दिन हजुर एउटा राक्षसी कीरामा कायान्तरण हुनुहुनेछ ?
आख्यानहरूले मलाई कल्पनाशीलता प्रदान गरेका छन् । मान्छेहरूका घाउलाई सुम्सुम्याउन सघाएका छन् । कविताहरूले मलाई ध्यानस्थ हुन सिकाएका छन् । कुनै पुस्तक अध्ययन गरेर मैले सकाउँछु भने सो पुस्तक मेरै लागि लेखिएको हो भन्ने महसुस हुन्छ । सोल्टिनी ! यो अन्त्य होइन हजुरले सोचेजस्तो ।
प्रतिक्रिया 4