
२१ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म मात्रै थेग्ने दाबी गरेका छन् ।
सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको दाबी गर्दै उनले राष्ट्रपति निर्वाचनअघि नै गठबन्धन टुट्ने अवस्था रहेको बताए ।
‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौं-खटपट सुरु भइसकेको छ’, उनले भने ।
ललितपुरको बालकुमारीस्थित एक बैंक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने भनी प्रश्नसमेत गरे ।
संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे ।
उनले रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको बताए ।
अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया 4